विराटनगर। मोरङको सुन्दरहरैँचा नगरपालिकाबाट प्रहरीले अवैध हतियार र सञ्चार उपकरणसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वडा नं. २ बेलडाँगीका २८ वर्षीय सिलास लिम्बु र वडा नं. ३ का २९ वर्षीय प्रेम बहादुर गुरुङ रहेका छन्।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता हरिनन्दन चौधरीका अनुसार, विशेष सूचनाका आधारमा माघ २६ गते साँझ करिब ६ः०० बजे इलाका प्रहरी कार्यालय बेलबारी र प्रहरी चौकी गछियाबाट खटिएको संयुक्त टोलीले सिलास लिम्बुको घरमा खानतलासी गरेको थियो।
खानतलासीका क्रममा लिम्बुको कोठाबाट मेडिएन युएसए लेखिएको पेस्तोल, दुई थान बाओफेङ ह्यान्डसेट र भरुवा बन्दुक जस्तो देखिने काठको हतियार बरामद गरिएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा प्रेम बहादुर गुरुङ पनि उक्त हतियार र सञ्चार सेटमा संलग्न रहेको देखिएपछि उनलाई घरैबाट नियन्त्रणमा लिइएको छ।
दुवैजनालाई इलाका प्रहरी कार्यालय बेलबारीमा राखेर हातहतियार खरखजाना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।