झापा। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली यतिबेला आफ्नो निर्वाचन क्षेत्र झापा–५ मा चुनावी अभियानमा सक्रिय छन्। घरदैलो कार्यक्रम र मतदातासँगको अन्तरक्रियाका क्रममा उनले विकास निर्माणका उपलब्धि प्रस्तुत गर्दै समसामयिक राजनीतिक विषयमा उठ्ने प्रश्नहरूको पनि जवाफ दिइरहेका छन्।
अन्तरक्रियाकै क्रममा केही मतदाताले देशमा राजसंस्थालाई पुनः स्थापित गर्नुपर्ने धारणा राखेपछि ओलीले त्यसप्रति असहमति जनाए। उनले नेपालमा राजतन्त्र पुनःस्थापना गर्ने कुनै औचित्य नरहेको बताउँदै लोकतान्त्रिक व्यवस्थामै देशको भविष्य सुनिश्चित हुने जिकिर गरे।
ओलीले लोकतन्त्रले सबैलाई राजनीतिक अधिकार र अवसर दिएको उल्लेख गर्दै पूर्वराजपरिवारलाई पनि नागरिकसरह राजनीतिक प्रक्रियामा सहभागी हुन कुनै बन्देज नरहेको बताए। उनका अनुसार शासन व्यवस्थामा परिवर्तन ल्याउन राजसंस्था समाधान नभई जनताको मत र सहभागिताबाट चल्ने प्रणाली नै उपयुक्त हुन्छ।
उनले इतिहासतर्फ संकेत गर्दै लामो समय राजतन्त्र कायम रहँदा पनि अपेक्षित विकास हुन नसकेको स्मरण गराए। “देशको समृद्धि र पूर्वाधार विकास लोकतान्त्रिक अभ्यासबाटै सम्भव भएको हो,” ओलीको भनाइ थियो।