रामेछाप। रामेछापको तामाकोशी नदीमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ। प्रमुख जिल्ला अधिकारी (सीडीओ) श्यामकृष्ण थापाका अनुसार घटनास्थलमा थप ६ वटा शव फेला परेपछि मृतक संख्या १२ पुगेको हो।
सीडीओ थापाले जानकारी दिएअनुसार ६ जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको थियो भने अन्य ६ शव नदीमा खसेको बसबाट खोजीका क्रममा निकालिएको हो।
काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकलीतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००५ ख ९९७५ नम्बरको बस मचानेटार नजिक सडकबाट खसेर तामाकोशी नदीमा डुबेको थियो। दुर्घटनामा घाइते भएका ८ जनामध्ये ७ जनालाई धुलिखेल अस्पताल पठाइएको छ।
अरनिको यातायात समितिका अनुसार जडीबुटीबाट ५ जना र चाबहिलबाट ३ जनाले टिकट काटेका थिए। बाटोमा थप यात्रु चढेको–नचढेको विषय खुल्न बाँकी छ।
सशस्त्र प्रहरीको गोताखोर टोलीले नदीमा खोजी कार्य जारी राखेको प्रशासनले जनाएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ।