विराटनगर। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउने उद्देश्यले मोरङ जिल्लामा सुरक्षा तथा प्रशासनिक तयारीलाई उच्च प्राथमिकतामा राखिएको छ। निर्वाचन मिति नजिकिँदै जाँदा जिल्लाभरका मतदानस्थल र मतदान केन्द्रहरूको संयुक्त स्थलगत अनुगमनलाई तीव्र पारिएको छ भने सुरक्षा संयन्त्र, प्रशासनिक समन्वय र आचारसंहिता कार्यान्वयनलाई एकसाथ अगाडि बढाइएको छ।
मोरङ जिल्लामा कुल ३ सय ६ वटा मतदानस्थल र ८ सय ८८ वटा मतदान केन्द्र निर्धारण गरिएको छ। यी सबै केन्द्रमा मतदाताले निर्भीक, सुरक्षित र सहज वातावरणमा मतदान गर्न पाउने संवैधानिक अधिकार सुनिश्चित गर्ने लक्ष्यसहित प्रशासन, सुरक्षा निकाय, निर्वाचन कार्यालय तथा सरोकारवाला निकायबीच निरन्तर समन्वय भइरहेको छ।
मुख्य निर्वाचन अधिकृत चित्रबहादुर गुरुङको नेतृत्वमा गठित संयुक्त अनुगमन टोलीले जिल्लाका विभिन्न निर्वाचन क्षेत्रका मतदानस्थल र मतदान केन्द्रहरूको अवस्था प्रत्यक्ष निरीक्षण गरिरहेको छ। टोलीमा मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेल, नेपाली सेनाका प्रमुख सेनानी अनिल बस्नेत, मोरङ प्रहरी प्रमुख एसपी कवित कटवाल, सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी गेहेन्द्रबहादुर भण्डारी तथा राष्ट्रिय अनुसन्धान विभागका प्रमुख एसपी राजन शर्मा सहभागी छन्।
संयुक्त रूपमा गरिएको अनुगमनले निर्वाचनलाई राज्यका सबै संयन्त्रले उच्च प्राथमिकतामा राखेको स्पष्ट देखिन्छ। एसपी कवित कटवालका अनुसार अनुगमनका क्रममा अतिसंवेदनशील र संवेदनशील मतदान केन्द्रहरूको सुरक्षा अवस्था, भौतिक पूर्वाधार, मतदानस्थलसम्मको पहुँच, सञ्चार सुविधा, आकस्मिक अवस्थाको तयारी तथा सुरक्षाकर्मी परिचालनको अवस्थाबारे विस्तृत मूल्याङ्कन भइरहेको छ।
उनका अनुसार विगतका निर्वाचन अनुभव, स्थानीय राजनीतिक गतिविधि, जनघनत्व, सामाजिक संरचना र भौगोलिक अवस्थालाई आधार मानेर मतदान केन्द्रहरूको वर्गीकरण गरिएको छ। सोही आधारमा केन्द्रअनुसार फरक–फरक सुरक्षा रणनीति तयार पारिएको छ।
हालसम्म निर्वाचन क्षेत्र नम्बर २, ३, ४, ५ र ६ अन्तर्गतका अधिकांश मतदानस्थलको अनुगमन सम्पन्न भइसकेको छ भने क्षेत्र नम्बर १ अन्तर्गतका मतदान केन्द्रहरूको अनुगमन जारी छ। विशेषगरी उत्तरी मोरङका दुर्गम तथा भौगोलिक रूपमा चुनौतीपूर्ण क्षेत्रका मतदान केन्द्रहरूमा सडक अवस्था, मौसमको प्रभाव, सञ्चार पहुँच र आपत्कालीन अवस्थामा उद्धार तथा सुरक्षा संयन्त्र कत्तिको प्रभावकारी हुन्छ भन्ने विषयलाई प्राथमिकताका साथ हेरिने जनाइएको छ।
प्रमुख जिल्ला अधिकारी युवराज कटेलले निर्वाचन अवधिभर सम्भावित भिड व्यवस्थापन, मतपेटिकाको सुरक्षा, मतदान सामग्रीको ढुवानी तथा भण्डारण, संवेदनशील क्षेत्रहरूमा निरन्तर गस्ती र आकस्मिक अवस्थाको तयारीबारे बुझ्ने काम भइरहेको बताए। उनका अनुसार निर्वाचनको दिन द्रुत प्रतिक्रिया टोली (र्यापिड रेस्पोन्स टिम) तयारी अवस्थामा रहनेछ।
अनुगमनका क्रममा मतदान केन्द्रमा आवश्यक न्यूनतम पूर्वाधारको अवस्थासमेत सूक्ष्म रूपमा परीक्षण भइरहेको छ। सुरक्षित भवन, शौचालय, खानेपानी, अपांगतामैत्री पहुँच, मतदान कक्षको गोपनीयता, सुरक्षाकर्मीको तैनाथी, भिड व्यवस्थापन र मतदान सामग्रीको सुरक्षालगायत विषयमा प्रत्यक्ष निरीक्षण भइरहेको एसपी कटवालले जानकारी दिए। कतिपय स्थानमा देखिएका साना कमजोरी तत्काल सुधार गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ।
निर्वाचन आचारसंहिता कार्यान्वयनलाई पनि प्रशासनले कडाइका साथ अघि बढाएको छ। निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तथा मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले निर्वाचनलाई निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउन आचारसंहिताको पूर्ण पालना अनिवार्य रहेको बताए। उनका अनुसार सार्वजनिक सम्पत्तिको दुरुपयोग, धार्मिक वा जातीय भावना भड्काउने अभिव्यक्ति, बालबालिकाको प्रयोग, सरकारी स्रोतसाधनको दुरुपयोग तथा अवैध प्रचार सामग्री प्रयोगमा विशेष निगरानी राखिएको छ।
सुरक्षा निकायले निर्वाचन अवधिभर मदिरा बिक्री वितरण नियन्त्रण, अवैध हतियार ओसारपसार रोकथाम, नगद तथा प्रलोभन वितरण नियन्त्रण र अनधिकृत भेला तथा जुलुसमाथि निगरानी बढाएको छ। भारतसँग सीमा जोडिएको जिल्ला भएकाले सीमावर्ती नाकाहरूमा संयुक्त गस्ती, चेकजाँच र खुफिया संयन्त्रलाई थप सक्रिय बनाइएको छ।
निर्वाचन कार्यालयले मतदाता शिक्षालाई पनि समानान्तर रूपमा अघि बढाएको छ। मतपत्र प्रयोग गर्ने तरिका, मतदान प्रक्रियाको जानकारी, निषेधित सामग्रीबारे स्थानीय तह, स्वयंसेवक र सञ्चार माध्यममार्फत सूचना प्रवाह भइरहेको छ। अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक, अशक्त तथा गर्भवती महिलालाई सहज रूपमा मतदान गर्न विशेष व्यवस्था मिलाउने तयारी गरिएको छ।
मोरङ कोशी प्रदेशकै राजनीतिक रूपमा महत्त्वपूर्ण जिल्ला भएकाले यहाँका छ वटा निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा रोचक हुने अनुमान गरिएको छ। यसलाई ध्यानमा राख्दै सुरक्षा, आचारसंहिता, पूर्वाधार व्यवस्थापन, मतदाता शिक्षा र प्रशासनिक समन्वयलाई सन्तुलित रूपमा सुदृढ बनाइने प्रमुख जिल्ला अधिकारी कटेलले स्पष्ट पारे।
प्रशासनले मतदातालाई ढुक्क भएर मतदान प्रक्रियामा सहभागी हुने वातावरण तयार पारिएको भन्दै निर्वाचनलाई लोकतान्त्रिक अभ्यासको उत्सवका रूपमा शान्तिपूर्ण र मर्यादित रूपमा सम्पन्न गर्न सबै पक्षसँग सहकार्यको अपेक्षा गरेको छ।