भ्रष्टाचारले राज्य र नागरिकको भरोसामा चोट पुर्‍याउँछ : राष्ट्रपति पौडेल

0 Shares

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले अख्तियार दुरुपयोगलाई सामान्य प्रशासनिक त्रुटिका रूपमा नलिन चेतावनी दिँदै यसले राज्यको वैधानिकता, सामाजिक न्याय र लोकतान्त्रिक मूल्यहरूमाथि गम्भीर चुनौती खडा गर्ने बताएका छन्। शक्ति र पदको आडमा कोही पनि कानुनी जबाफदेहिताबाट माथि हुन नसक्ने सन्देश आम नागरिकमा स्थापित गर्न अझ प्रभावकारी काम गर्न आवश्यक रहेको उनको भनाइ छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ स्थापना दिवसका अवसरमा बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले भ्रष्टाचार र अख्तियार दुरुपयोगले आर्थिक वा नैतिक क्षतिभन्दा पनि गहिरो रूपमा राज्य र नागरिकबीचको विश्वासमा चोट पुर्‍याउने उल्लेख गरे।

उनले भने, “अख्तियार दुरुपयोग केवल कानुन उल्लङ्घन मात्र होइन, यो नागरिकको आस्था, विश्वास र भविष्यका सपनामाथि गरिने गहिरो आघात हो। जब सार्वजनिक शक्ति व्यक्तिगत स्वार्थका लागि प्रयोग हुन्छ, तब नागरिकले राज्यप्रति राखेको भरोसा कमजोर बन्छ र शासन प्रणालीप्रति निराशा फैलिन्छ।”

राष्ट्रपति पौडेलले सत्ता, शक्ति र धनप्रतिको अनियन्त्रित मोहले प्रक्रिया, पद्धति र प्रणालीको दुरुपयोग गराई मानिसलाई भ्रष्टाचारतर्फ धकेल्ने उल्लेख गरे। तर व्यक्तिगत बानी, व्यवहार र आचरणमै “म भ्रष्टाचार गर्दिनँ र हुन पनि दिन्नँ” भन्ने दृढ प्रण गर्न सके भ्रष्टाचार नियन्त्रण सम्भव रहेको उनले बताए।

“सदाचार, नैतिकता, निष्पक्षता, पारदर्शिता र निर्भीकतालाई जीवन पद्धतिकै रूपमा अंगाल्न सकियो भने भ्रष्टाचार नियन्त्रण असम्भव हुँदैन,” उनले भने, “यसका लागि नीति, पद्धति, प्रविधि र प्रवृत्तिगत सुधारलाई प्रभावकारी बनाएर अनुशासन र सदाचारको प्रणाली विकास गर्नुपर्छ।”

राष्ट्रपति पौडेलले लोकतन्त्रको सुदृढीकरण, आर्थिक विकास, सुशासन, सामाजिक न्याय र समृद्धि देशको साझा लक्ष्य भएको उल्लेख गर्दै सुशासन र पारदर्शिताविना लोकतन्त्रको प्रतिफल जनताको घरदैलोमा पुग्न नसक्ने स्पष्ट पारे। उनका अनुसार जनअपेक्षाअनुसारको विकास र समृद्धि हासिल गर्न अख्तियार दुरुपयोगको अन्त्य र भ्रष्टाचार नियन्त्रण अनिवार्य शर्त हो।

“लोकतन्त्रले अपेक्षा गर्ने सुशासन, सामाजिक न्याय र समृद्धिको अवधारणालाई मूर्तरूप दिन सबै प्रकारका भ्रष्टाचार छानबिनको दायरामा ल्याउनैपर्छ,” राष्ट्रपति पौडेलले जोड दिए।

संविधान र लोकतान्त्रिक गणतन्त्रको मूल उद्देश्य सहज र सरल रूपमा सेवा प्रवाह गर्दै देशलाई समृद्ध बनाउनु रहेको उल्लेख गर्दै उनले यही अभिष्ट पूरा गर्न नागरिकस्तरबाट आवाज उठ्नु स्वाभाविक भएको बताए। हालै युवा पुस्ताले देखाएको सक्रियता पनि सुशासन र उत्तरदायी राज्यप्रतिको चाहनाको अभिव्यक्ति भएको उनको भनाइ थियो।

राष्ट्रपति पौडेलले भ्रष्टाचारविरुद्धको लडाइँ कुनै एक संस्थाको मात्र जिम्मेवारी नभई राज्यका सबै अंग, राजनीतिक नेतृत्व, कर्मचारीतन्त्र र नागरिक समाजको साझा प्रतिबद्धताबाट मात्र सफल हुने बताए।

“अख्तियार दुरुपयोगविरुद्धको सङ्घर्ष अन्ततः न्याय, समानता र सुशासनको पक्षमा उभिने सङ्घर्ष हो,” उनले भने, “यही सङ्घर्षमार्फत नागरिकको विश्वास पुनःस्थापित गर्न, लोकतन्त्रलाई सुदृढ बनाउन र भावी पुस्तालाई स्वच्छ, सक्षम र भरोसायोग्य राज्य हस्तान्तरण गर्न सकिन्छ।”

उनले भ्रष्टाचार नियन्त्रणका लागि दृढ राजनीतिक प्रतिबद्धता पहिलो शर्त भएको उल्लेख गर्दै राजनीतिक पदाधिकारीको कार्यसंस्कृतिमा आउने सकारात्मक परिवर्तनले सम्पूर्ण प्रशासनिक संयन्त्रलाई पनि सही दिशामा मार्गदर्शन गर्ने विश्वास व्यक्त गरे।

सम्बन्धित समाचारसबै