काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्यभारसमेत सम्हालेकी प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रियसभामा ‘चलचित्र विधेयक, २०८१’ प्रस्तुत गर्ने भएकी छन्। उक्त विधेयक छलफलका लागि प्रस्ताव गर्दै पारित गरियोस् भनी सभासमक्ष पेस गर्ने कार्यसूची तय गरिएको छ।
सङ्घीय संसद् सचिवालयका अनुसार आज अपराह्न १ः१५ बजेका लागि बोलाइएको राष्ट्रियसभा बैठकको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री कार्कीले चलचित्र विधेयक प्रस्तुत गर्ने कार्यक्रम समावेश छ।
आजको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर सम्बन्धित मन्त्रीहरूले दिनेछन्। सांसदहरूले उठाएका जिज्ञासाहरूमा सरकारका तर्फबाट स्पष्टिकरण दिने तयारी गरिएको छ।
यसैगरी, विधायन व्यवस्थापन समितिकी सभापति तुलसाकुमारी दाहालले समितिको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन राष्ट्रियसभामा पेस गर्ने कार्यसूची छ।
त्यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘अध्यागमन ऐन, २०४९ तथा सो ऐनअन्तर्गत बनेका प्रत्यायोजित विधायनहरूसम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ माथि छलफल गरियोस् भन्ने प्रस्ताव सभामा प्रस्तुत गर्नेछन्।
आजको राष्ट्रियसभा बैठकमा विधेयक प्रस्तुति, प्रतिवेदन पेस तथा विभिन्न मन्त्रालयसँग सम्बन्धित प्रश्नोत्तर कार्यक्रमसहित महत्त्वपूर्ण संसदीय कार्यसूची तय गरिएको छ।







