काठमाडौं। रौतहट निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारको चुनावी प्रचारमा प्रयोग भएको सवारीसाधनको ठक्करबाट चार वर्षीया बालिका अल्फा खातुनको मृत्यु भएपछि सामाजिक सञ्जाल र सार्वजनिक बहसमा तीव्र प्रतिक्रिया देखिएको छ। विशेषगरी जेन–जी अगुवाहरूले यस्ता घटनामा राजनीतिक दलअनुसार फरक प्रतिक्रिया देखिनु गम्भीर समस्या भएको टिप्पणी गरेका छन्।
उनीहरूको मुख्य प्रश्न एउटै छ— जब अघिल्लो पटक एमालेका मन्त्री सवार गाडीको दुर्घटनामा एक बालिका घाइते भएकी थिइन्, त्यसबेला व्यापक आक्रोश देखियो, तर अहिले रास्वपाका उम्मेदवारसँग जोडिएको घटनामा किन मौनता देखियो?
जेन–जी अगुवा तनुजा पाण्डेले सामाजिक सञ्जालमार्फत दुर्घटना आफैं रोक्न नसकिए पनि त्यसपछिको जवाफदेहिता अनिवार्य हुने बताएकी छन्। उनले लेखेकी छन्, “गलतलाई गलत भन्नु राजनीति होइन, जिम्मेवारी हो। मृत्युमा दुःख व्यक्त गर्नु र न्यायको माग गर्नु कहिलेदेखि एजेन्डा बन्यो?”
उनले राजनीतिक दल र सामाजिक सञ्जालका प्रभावशाली प्लेटफर्महरूलाई लक्षित गर्दै मानवीय संवेदनशीलता प्राथमिकतामा राख्न आग्रह गरेकी छन्। “पीडित परिवारप्रति सहानुभूति र न्यायको माग साझा जिम्मेवारी हो,” उनको भनाइ छ।
तनुजाको भनाइलाई समर्थन गर्दै अर्की जेन–जी अगुवा भावना राउतले न्याय कुनै पनि दलको स्वामित्वमा नपर्नुपर्ने धारणा व्यक्त गरेकी छन्। उनले कानुन सबैका लागि समान हुनुपर्ने भन्दै प्रहरी प्रशासन र न्याय प्रणाली स्वतन्त्र रूपमा अघि बढ्नुपर्ने उल्लेख गरेकी छन्। “दुर्घटनामा जोसुकै संलग्न भए पनि पार्टीभन्दा पहिले कानुन हेर्नुपर्छ,” उनले लेखेकी छन्।
यस्तै, जेन–जी अगुवा रक्षा बमले पनि सामाजिक सञ्जालमा प्रतिक्रिया जनाउँदै अन्धभक्तिको आलोचना गरेकी छन्। उनले राजनीतिक दलका समर्थकहरूलाई आफ्ना नेताको बचाउमा आँखा चिम्लेर उभिनुको सट्टा सही र गलत छुट्याउने नैतिक साहस देखाउन आग्रह गरेकी छन्। उनका अनुसार गाडीमा उम्मेदवार स्वयं थिए वा थिएनन् भन्ने विषय अनुसन्धानको पाटो भए पनि अहिलेको मुख्य प्रश्न जिम्मेवारी र जवाफदेहिता हो।
“मनपर्ने पार्टी वा नेता भए पनि अपराध भनेको अपराध नै हो,” उनले लेखेकी छन्, “कानुनअनुसार छानबिन र कारबाही हुनुपर्छ, कुनै पनि राजनीतिक आवरणले दोषीलाई जोगाउने काम हुनु हुँदैन।”
उक्त दुर्घटना बिहीबार रौतहट–२ मा रास्वपाका उम्मेदवार शेख सगीरको चुनावी प्रचार अभियानका क्रममा भएको थियो। घटनापछि बालिकाको उपचारका क्रममा निधन भएको पुष्टि गरिएको छ।
घटनाको भोलिपल्ट रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीले विज्ञप्ति जारी गर्दै दुःख व्यक्त गरेका थिए। विज्ञप्तिमा घटनाको छानबिनमा प्रशासनलाई पूर्ण सहयोग गर्ने, पीडित परिवारलाई राहत उपलब्ध गराउने तथा भविष्यमा सवारीसाधनको प्रयोगमा थप सतर्कता अपनाउने प्रतिबद्धता व्यक्त गरिएको छ।