क्यानडाको माध्यमिक विद्यालयमा गोली चल्दा १० जनाको मृत्यु

0 Shares

विराटनगर । ब्रिटिस कोलम्बियाको टम्बलर रिजस्थित एक माध्यमिक विद्यालयमा गोली चलेको घटनामा कम्तीमा १० जनाको मृत्यु भएको छ।

स्थानीय समयअनुसार मंगलबार अपराह्न भएको गोलीकाण्डमा विद्यालयभित्रै ६ जनाको शव भेटिएको छ भने एक जनाको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो। विद्यालय नजिकैको अन्य भवनमा दुई जनाको मृत भेटिएको छ। घरमा मृत भेटिएका अन्य दुई जनाको पनि उक्त विद्यालय गोलीकाण्डसँग सम्बन्ध रहेको प्रहरीले जनाएको छ।

स्थानीय प्रहरीले आक्रमणकारी महिलाको पहिचान खुलिसकेको भए पनि सार्वजनिक नगरेको छ। घटनास्थलमा मृत भेटिएकी महिला खैरो कपाल र खैरै पहिरनमा आएकी थिइन्। प्रारम्भिक विवरणअनुसार उनले अन्धाधुन्ध गोली चलाएको र त्यसपछि आत्महत्या गरेको बुझिएको छ।

गोलीकाण्डमा कम्तीमा २५ जना घाइते भएका छन्। तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको रोयटर्सले जनाएको छ।

क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले सामाजिक सञ्जालमार्फत घटना प्रति गहिरो दुःख व्यक्त गरेका छन्।

क्यानडामा विगतमा पनि ठूला गोलीकाण्ड भएका थिए। सन् २०२० अप्रिलमा नोभा स्कोटियामा एक ५१ वर्षीय व्यक्तिले १३ घण्टासम्म गोली चलाउँदै २२ जनाको हत्या गरेका थिए। त्यस्तै, सन् १९८९ डिसेम्बरमा मोन्ट्रियलस्थित इकोल पोलिटेक्निकमा भएको गोलीकाण्डमा १४ महिला विद्यार्थीको मृत्यु भएको थियो भने १३ जना घाइते भएका थिए।-बीबीसी

सम्बन्धित समाचारसबै