नेकपा देशकै नयाँ सोच र स्पष्ट भिजन भएको पार्टी हो:प्रचण्ड

0 Shares

पोखरा । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीलाई देशकै सबैभन्दा नयाँ सोच र स्पष्ट भिजन बोकेको राजनीतिक शक्ति भएको दाबी गरेका छन्।

पोखरामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले वर्तमान राजनीतिक परिस्थिति र जनअपेक्षाअनुसार पार्टीले नयाँ घोषणापत्रमार्फत स्पष्ट संकल्प प्रस्तुत गरेको बताए। प्रचण्डले नेकपाबारे हालसालै विभिन्न किसिमका भ्रम फैलाइएको उल्लेख गर्दै सुरुमा युवाहरूमा केही अन्योल देखिएको स्वीकार गरे।

उनले भने, “हामीलाई माओवादी भनेर ३ वटा पार्टी, ३ वटा नेता भनेर प्रचार गरियो। त्यो कसले गर्‍यो भन्ने तपाईंहरूले बुझिराख्नुभएको छ।” उनले ती प्रचारहरू योजनाबद्ध रूपमा गरिएको संकेत गर्दै अब परिस्थिति फेरिएको दाबी गरे।

प्रचण्डका अनुसार अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरूको नाममा केही शक्तिहरूले भ्रष्टाचारविरुद्ध लड्ने र भ्रष्टाचारीको संरक्षण गर्ने सबैलाई एउटै ठान्ने भ्रम सिर्जना गर्न खोजेका थिए। उनले भने, “सत्ता पक्षमा हुने पनि उस्तै, प्रतिपक्षमा हुने पनि उस्तै भनेर युवाहरूलाई भ्रममा पार्ने कसरत भयो। तर अहिले त्यो भ्रम क्रमशः हट्दै गएको छ।”

उनले विशेषगरी ‘जेनजी आन्दोलन’को सन्दर्भ उठाउँदै त्यसमा सहभागी पवित्र भावनाका युवाहरूले अहिले आफ्नो पार्टीको धारणा र मुद्दा बुझिसकेको दाबी गरे। उनले देशको रूपान्तरण, सुशासन र सामाजिक न्यायका मुद्दामा नेकपा स्पष्ट अडानमा रहेकोले युवाहरूको आकर्षण बढ्दै गएको उल्लेख गरे।

प्रचण्डले पार्टीप्रति बढ्दो जनसमर्थनको उदाहरण दिँदै हजारौँ युवाहरू नेकपामा प्रवेश गरिरहेको जानकारी दिए। उनले भने, “हाम्रो विचार, हाम्रो मुद्दा र हाम्रो अभिभावक पार्टी भनेर युवाहरूले विश्वास गर्न थालेका छन्।”

सम्बोधनका क्रममा उनले आगामी राजनीतिक यात्रामा नयाँ ऊर्जा, नयाँ नेतृत्व र स्पष्ट नीति आवश्यक रहेको दोहोर्‍याए। उनले पार्टीलाई वैचारिक स्पष्टता, संगठनात्मक मजबुती र युवामुखी कार्यक्रममार्फत अगाडि बढाइने प्रतिबद्धता व्यक्त गरे।

सम्बन्धित समाचारसबै