सोलुखुम्बु। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारी र हिमाली जिल्लाको समग्र अवस्था बुझ्न प्रधानमन्त्री सुशीला कार्की आज बिहीबार सोलुखुम्बु पुगेकी छन्। निर्वाचनको पूर्वसन्ध्यामा स्थलगत निरीक्षणका लागि प्रधानमन्त्री कार्कीको नेतृत्वमा उच्चस्तरीय टोली सोलुखुम्बु आएको हो।
प्रधानमन्त्रीसँगै प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठ र प्रेस सल्लाहकार रामबहादुर रावल पनि टोलीमा सहभागी छन्। टोली बिहान हेलिकप्टरमार्फत सोलुखुम्बु प्रवेश गर्दै सुरुमा नाम्चे पुगेको थियो। नाम्चेमा स्थानीय अवस्था अवलोकन गरेपछि प्रधानमन्त्री हाल जिल्लाको सदरमुकाम सल्लेरी आइपुगेकी छन्।
सल्लेरीमा प्रधानमन्त्री कार्कीलाई प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका जिल्ला प्रमुखहरूले स्वागत गरेका छन्। सो अवसरमा जिल्लाको समग्र सुरक्षा अवस्था, निर्वाचन व्यवस्थापन र तयारीका विषयमा प्रधानमन्त्रीलाई विस्तृत ब्रिफिङ गरिएको थियो।
प्रेस सल्लाहकार रावलका अनुसार सुरक्षा र प्रशासनिक निकायले फागुन २१ गते हुने निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सबै तयारी पूरा भइसकेको जानकारी प्रधानमन्त्रीलाई गराएका छन्। कुनै पनि किसिमको सुरक्षा चुनौती नरहेको उल्लेख गर्दै अधिकारीहरूले निर्वाचन सहज रूपमा सम्पन्न हुने विश्वास दिलाएका छन्।
प्रधानमन्त्री कार्कीले हिमाली जिल्लामा निर्वाचनका क्रममा देखिन सक्ने संवेदनशील पक्ष, मतदाताको पहुँच र सुरक्षा व्यवस्थाप्रति विशेष चासो व्यक्त गर्दै आवश्यक सतर्कता अपनाउन निर्देशन दिएकी छन्।