विदेशी हस्तक्षेपविरुद्ध जनमतको लडाइँ हो निर्वाचन : प्रचण्ड

0 Shares

बागलुङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हाल भइरहेको निर्वाचनलाई सामान्य राजनीतिक प्रतिस्पर्धा नभई राष्ट्रको स्वाधीनता र लोकतान्त्रिक व्यवस्थाको रक्षा गर्ने निर्णायक लडाइँका रूपमा व्याख्या गरेका छन्।

बागलुङको बुर्तिबाङमा आयोजित सभालाई सम्बोधन गर्दै उनले राजनीतिक दल र जनताले २०८४ सालमा निर्वाचन गर्ने अपेक्षा राखे पनि बाध्यात्मक परिस्थितिले अहिले निर्वाचनमा जानुपरेको बताए।

प्रचण्डले २३ र २४ भदौमा भएको घटनाले देशलाई गम्भीर संकटतर्फ धकेलेको दाबी गर्दै त्यसबेला आफू र सहसंयोजक माधव नेपालले संयमता र विवेक अपनाएर मुलुकलाई ठूलो दुर्घटनाबाट जोगाएको उल्लेख गरे। उनका अनुसार ती घटनाको उद्देश्य केवल हिंसा र लुटपाट नभई राष्ट्रपति हटाएर कठपुतली सरकार गठन गर्ने र देशलाई युक्रेनजस्तै अस्थिर अवस्थामा पुर्‍याउने योजना थियो।

उनले संविधान ती घटनाबाट आंशिक रूपमा क्षतिग्रस्त भएको उल्लेख गर्दै त्यसको रक्षा गर्ने जिम्मेवारी अब राष्ट्रवादी शक्तिको काँधमा आएको बताए।

उनका अनुसार अहिलेको निर्वाचन विदेशी शक्तिको प्रभावमा देशलाई अस्थिर बनाउने प्रयास र त्यसको प्रतिरोध गर्ने राष्ट्रवादी शक्तिबीचको टकराव हो। ‘राज्य सञ्चालन कसको हातमा थियो भन्ने प्रश्न उठ्नु स्वाभाविक हो,’ उनले भने, ‘यो निर्वाचन जनताले नै देशको नेतृत्व गर्छन् भन्ने कुरा स्थापित गर्ने अवसर हो।’

विश्व राजनीति नयाँ मोडमा पुगेको उल्लेख गर्दै दाहालले नेपालजस्तो सानो मुलुकलाई ठूला शक्तिको प्रतिस्पर्धाको मैदान बनाउन नदिन सजग हुनुपर्ने बताए। उनले युक्रेन युद्ध र भेनेजुएलाका घटनालाई उदाहरण दिँदै विदेशी हस्तक्षेपबाट बच्न एकताबद्ध हुन आग्रह गरे।

कार्यक्रममा उनले बागलुङ, रुकुम पूर्व–पश्चिम र रोल्पाको समग्र विकासका लागि योजना बनाइरहेको जानकारी गराउँदै बागलुङ–२ का उम्मेदवार ज्ञामलाल गैरेजस्ता युवालाई अवसर दिन पाउँदा गर्व लागेको बताए। निर्वाचनमा जनसमर्थन पाए बागलुङ–२ को विकासका लागि पार्टीले प्रभावकारी भूमिका दिने प्रतिबद्धता पनि उनले व्यक्त गरे।

सम्बन्धित समाचारसबै