काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की कोशी प्रदेशको सुरक्षा अवस्था र निर्वाचन तयारीबारे जानकारी लिन हिजो बिहीबार इटहरी पुगेकी छन् । निर्वाचनसँग सम्बद्ध अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गर्न उनी सोलुखुम्बु र भोजपुर हुँदै इटहरी पुगेकी हुन् ।
इटहरीमा आयोजित बैठकमा कोशी प्रदेशका प्रमुख सचिव राजेन्द्रकुमार पौडेल, नेपाल प्रहरीका नायव महानिरीक्षक विनोद घिमिरे, जिल्लाका मुख्य निर्वाचन अधिकृतहरू, नेपाली सेना, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागका अधिकारीहरूको उपस्थिति रहेको थियो ।
बैठकमा नेपाली सेनाको पूर्वी पृतना मुख्यालयका पृतनापति उपरथी गौरवकुमार केसीले कोशी प्रदेशको समग्र सुरक्षा अवस्था तथा निर्वाचनलक्षित सुरक्षा योजनाबारे जानकारी गराएका थिए ।
प्रधानमन्त्री कार्कीले निर्वाचनको वातावरण बिगार्ने कुनै पनि गतिविधि हुन नदिन सजग रहन र त्यस्ता तत्वलाई तत्काल निरुत्साहित गर्न सुरक्षा निकायलाई निर्देशन दिएकी छन् ।
यसअघि उनले सोलुखुम्बुको नाम्चे र सल्लेरी तथा भोजपुर सदरमुकाममा समेत पुगेर निर्वाचन तयारी र स्थानीय अवस्थाबारे जानकारी लिएकी थिइन् ।
कोशी प्रदेशका १४ जिल्लामा २८ निर्वाचन क्षेत्रका लागि निर्वाचन हुँदैछ ।