काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासका क्षेत्रमा कडाइ थपिएको छ। काठमाडौं प्रशासनले बिहीबारदेखि लागु हुनेगरी एक महिनाका लागि विमानस्थल परिसरमा निषेधाज्ञा जारी गरेको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र दुर्गा प्रसाईं लगायतका राजावादी दल तथा अभियानहरूले शुक्रबार झापाबाट फर्कन लागेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई विमानस्थलमा भव्य स्वागत गर्ने योजना बनाएका थिए। तर, निर्वाचन आचारसंहिता जारी रहेको अवस्थामा प्रदर्शन गर्न नपाइने भन्दै प्रशासनले निषेधाज्ञा लागू गरेको हो।
प्रशासनले गोल्डेन गेटदेखि विमानस्थलको आन्तरिक र अन्तर्राष्ट्रिय टर्मिनल, पार्किङ क्षेत्र र वरपरको सम्पूर्ण सडकमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भएर अनसन, धर्ना, जुलुस वा विरोध कार्यक्रम गर्न रोक लगाएको छ।
निषेधाज्ञा बाबजुद राप्रपा नेता र विभिन्न अभियानमा आबद्ध केही व्यक्तिहरूले पूर्वराजा शाहको स्वागतका लागि उपस्थित हुने संकेत गरेपछि सुरक्षा कडा गरिएको छ। विमानस्थल क्षेत्रमा नियमितभन्दा बढी प्रहरी खटाइएको छ। प्रहरीहरूले धेरैलाई लामो समयसम्म जम्मा हुन समेत नदिइ सुरक्षा सुनिश्चित गरेका छन्।
