निष्पक्ष र पारदर्शी निर्वाचन सुनिश्चित गर्न पर्यवेक्षक सक्रिय: ७ सय निर्वाचन पर्यवेक्षक खटाइने

0 Shares

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई निष्पक्ष, पारदर्शी र शान्तिपूर्ण बनाउन निर्वाचन पर्यवेक्षण समिति नेपालले देशभर ७ सय पर्यवेक्षक परिचालन गरेको छ।

समितिका अनुसार, निर्वाचन प्रक्रिया र आचारसंहिता पालनाको अवस्थालाई नजिकबाट नियाल्न ७७ वटै जिल्लामा टोली खटाइएको छ। माघ २४ र २५ गते विशेष प्रशिक्षण प्राप्त गरेका यी पर्यवेक्षकहरूले निर्वाचन तयारी, प्रचार–प्रसार र गतिविधिहरूलाई सुक्ष्म रूपमा अनुगमन गरिरहेका छन्।

हाल कार्यक्षेत्रमा खटिएका ४० जना दीर्घकालीन पर्यवेक्षकले राजनीतिक दल, उम्मेदवार, सुरक्षा निकाय र सार्वजनिक पदमा रहेका व्यक्तिहरूको आचारसंहिता पालनाको निगरानी गर्दैछन्। साथै, निर्वाचन प्रचारमा हुने खर्च र मतदातामाथि प्रभाव पार्न सक्ने गतिविधि पनि विशेष निगरानीमा राखिएको छ।

समितिका अध्यक्ष श्रीकृष्ण सुवेदीले एक विज्ञप्ति जारी गर्दै निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ र मितव्ययी बनाउन सबै सरोकारवालासँग सकारात्मक सहयोगको अपिल गरेका छन्। निर्वाचन आयोगले यस पटकको चुनाव पर्यवेक्षणका लागि विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थाहरूलाई अनुमति दिएको छ।

सम्बन्धित समाचारसबै