प्रचण्डको उद्घोष: ‘जनयुद्धकै दृढता लिएर अघि बढ्नेछौँ’

0 Shares

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ३१औँ जनयुद्ध दिवसका अवसरमा रुकुम पूर्वबाट समाजवादको नयाँ यात्रा सुरु गर्ने संकल्प गरेका छन्।

जनयुद्ध सुरु भएको ३० वर्ष पूरा भएको ऐतिहासिक अवसरमा बिहीबार रुकुम पूर्व पुगेका प्रचण्डले स्थानीय जनताको उत्प्रेरणाबाट आफूले नयाँ ऊर्जा प्राप्त गरेको बताएका छन्।

विशेष समारोहलाई सम्बोधन गर्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा गरिब, महिला र आदिवासी जनजातिको योगदान निर्णायक रहेको स्मरण गराए। उनले भने, “यहाँका गरिब, महिला र आदिवासी जनजातिले रगत नबगाएको भए हामी आज समावेशी र समानुपातिक गणतन्त्रमा हुने थिएनौँ। यस वर्षको जनयुद्ध दिवस मेरो लागि विशेष छ। रुकुम पूर्वमा आउँदा म उद्वेलित भएको छु। जनयुद्धकै जस्तो दृढता र नयाँ ऊर्जासहित अब समाजवादको यात्रामा अघि बढ्नेछौँ।”

मुलुकको वर्तमान चुनौतीपूर्ण परिस्थिति औँल्याउँदै प्रचण्डले २०८४ सालमा हुनुपर्ने निर्वाचन २०८२ मै गर्नुपर्ने अवस्था सिर्जना भएकोले देश कठिन मोडमा पुगेको बताए। यस्तो संकटको घडीमा जनयुद्धकालीन प्रेरणाबाट शिक्षा लिँदै राष्ट्र र राष्ट्रियताको पक्षमा उभिनुपर्नेमा उनले जोड दिए। साथै उनले नेपाली जनताको आत्मनिर्णयको अधिकार रक्षाका लागि नयाँ अभियान सञ्चालन गर्ने उद्घोष पनि गरे।

सम्बन्धित समाचारसबै