विराटनगर । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले देशको समग्र परिवर्तन, सुशासन र आर्थिक आत्मनिर्भरतालाई केन्द्रमा राख्दै आगामी ५ वर्षभित्र ठोस परिणाम दिने दाबी गरेका छन्।
बिहीबार विराटनगरमा आयोजित कार्यक्रममा घिसिङले युवा पुस्ताको सक्रिय सहभागिता बिना देशको रूपान्तरण सम्भव नहुने बताए। उनले मोरङ क्षेत्र नम्बर ६ मा पार्टीको नयाँ सम्पर्क कार्यालय उद्घाटन गर्दै उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टीका तर्फबाट देशभर संयुक्त रूपमा उम्मेदवारी दिइएको जानकारी दिए।
घिसिङले आफ्नो नेतृत्व विगतको उपलब्धिसँग जोड्दै लोडसेडिङ अन्त्यलाई उदाहरण प्रस्तुत गरे। उनले भने, “हिजो लोडसेडिङ अन्त्य गरेर आएका हौं। अब देशभरको अँध्यारो हटाउने समय आएको छ। ५ वर्षभित्र देशमा कायापलट गर्छौं।”
उनले देशमा व्याप्त भ्रष्टाचार, बेरोजगारी र कमजोर उत्पादनशीलतालाई मुख्य चुनौतीको रूपमा औँल्याए। घिसिङका अनुसार पार्टीको प्राथमिकता भ्रष्टाचार नियन्त्रण, सुशासन र रोजगारी सिर्जना हो। उनी युवा पुस्तालाई उद्यम, उत्पादन र प्रविधिमा आधारित अर्थतन्त्र निर्माणतर्फ लाग्न आग्रह गरे।
कार्यक्रममा मोरङ–६ बाट उम्मेदवार वसन्त बुढाथोकीले पनि आमूल परिवर्तनको एजेन्डा लिएर चुनावी मैदानमा उत्रिएको बताए। बुढाथोकीले बेरोजगारी अन्त्य र विकासको स्पष्ट खाका प्रस्तुत गर्ने दाबी गरे। उनले मतदातालाई आग्रह गर्दै भने, “जनताको साथ पाए परिवर्तन सम्भव छ। मेरो राजनीतिक पुँजी जनताको विश्वास हो, त्यसलाई परिणाममा रूपान्तरण गर्ने प्रतिबद्धता छ।”
घिसिङले पनि बुढाथोकीलाई जिताउन मतदातालाई आग्रह गर्दै मोरङ–६ बाट परिवर्तनको सन्देश दिनुपर्नेमा जोड दिए। कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता र समर्थकहरूको उल्लेख्य उपस्थिति थियो।
घिसिङको भाषणले ऊर्जा क्षेत्रको उपलब्धि, भ्रष्टाचार नियन्त्रण, सुशासन, युवा रोजगारी, उत्पादन वृद्धि र आर्थिक आत्मनिर्भरतालाई आगामी ५ वर्षको निर्णायक समयसँग जोड्ने प्रयास गरेको देखियो।