ताप्लेजुङ । प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी र जिल्लाको सुरक्षा अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री सुशीला कार्की ताप्लेजुङ पुगेकी छन्।
आज बिहान उनले प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिर मा दर्शन तथा पूजाअर्चना गरेकी हुन्। पूजापछि सामाजिक सञ्जालमार्फत उनले “फागुन महिना, निर्वाचन महिना पाथीभराबाट शुरूवात” उल्लेख गर्दै देशभर शान्तिपूर्ण निर्वाचन सम्पन्न होस् भन्ने कामना व्यक्त गरेकी छन्।
ताप्लेजुङ भ्रमणका क्रममा उनले सुरक्षा निकायका प्रमुख, मुख्य निर्वाचन अधिकृत तथा निर्वाचनमा खटिएका कर्मचारीसँग भेटघाट गरी तयारी र सुरक्षा व्यवस्थाबारे जानकारी लिइरहेकी छन्।
यसअघि चुनावी वातावरणको अवलोकन गर्न उनी सोलुखुम्बुको नाम्चे र सदरमुकाम सल्लेरी पुगेकी थिइन्। हेलिकोप्टरमार्फत नाम्चे पुगेर सल्लेरीमा सरोकारवालासँग छलफल गरेपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले निर्वाचन प्रक्रियाप्रति शङ्का नगर्न र निर्धक्क रूपमा सहभागिता जनाउन आग्रह गरेकी थिइन्।
प्रधानमन्त्रीको स्थलगत अनुगमनले आसन्न निर्वाचनलाई सुरक्षित, व्यवस्थित र विश्वसनीय बनाउन सरकार सक्रिय रहेको संकेत दिएको छ।