जहदामा खाल्डोभित्र लुकाइएको २७५ किलो गाँजा बरामद, एक पक्राउ

0 Shares

विराटनगर । मोरङको जहदा गाउँपालिका क्षेत्रमा खाल्डो खनेर लुकाइ राखिएको ठूलो परिमाणमा गाँजा प्रहरीले बरामद गरेको छ। शनिबार बिहान गरिएको संयुक्त सुरक्षात्मक कारबाहीका क्रममा २ सय ७५ किलो ८ सय ग्राम गाँजा फेला परेको हो।

मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी हरिनन्दन चौधरीका अनुसार परालले छोपेर जमिनमुनि लुकाइएको अवस्थामा कालो प्लास्टिकमा प्याक गरिएका ९ वटा पोका गाँजा भेटिएको हो। गोप्य सूचनाका आधारमा गरिएको खोजतलासका क्रममा उक्त गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म रानी र नेपाल प्रहरीको संयुक्त टोलीले बिहान करिब ६ बजे जहदा–१ क्षेत्रमा खानतलासी गरेको थियो। टोलीको नेतृत्व सशस्त्र प्रहरीका डीएसपी तिलकबहादुर खड्का र इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर कविन राईले गरेका थिए।

प्रहरीले जहदा–१ का अन्दाजी २८ वर्षीय चन्दनकुमार साहलाई पक्राउ गरेको छ। प्रारम्भिक अनुसन्धान अनुसार गाँजा भण्डारणमा उनको संलग्नता देखिएपछि आफ्नै घरको कोठामा लुकेर बसेको अवस्थामा उनलाई नियन्त्रणमा लिइएको हो।

बरामद गरिएको गाँजा र पक्राउ परेका साहलाई इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ। उनीविरुद्ध लागुऔषध ऐनअन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार गाँजा बरामद भएको स्थान नेपाल–भारत सीमासँग नजिक पर्छ। सुरक्षाकर्मीको निगरानी छल्न सीमा क्षेत्रनजिकै भण्डारण गरी भारततर्फ तस्करी गर्ने उद्देश्य हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।

सम्बन्धित समाचारसबै