महाशिवरात्रि तयारी अन्तिम चरणमा,पशुपतिमा ८ लाख भक्तजन आउने अनुमान

0 Shares

काठमाण्डौ। भोलि मनाइने महाशिवरात्रि पर्वलाई लक्षित गर्दै पशुपतिनाथ मन्दिर क्षेत्रमा आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ। पशुपति क्षेत्र विकास कोषले पर्वलाई व्यवस्थित, सुरक्षित र श्रद्धालुमैत्री बनाउन बहुआयामिक योजना कार्यान्वयनमा ल्याइएको जनाएको छ।

कोषका कार्यकारी निर्देशक तथा प्रवक्ता सुभाष जोशीका अनुसार महाशिवरात्रिका दिन कम्तीमा आठ लाख दर्शनार्थीले दर्शन गर्ने अनुमान गरिएको छ भने करिब चार हजार साधुसन्तको उपस्थिति रहने अपेक्षा गरिएको छ। दर्शनार्थीको सहजताका लागि चारवटा छुट्टाछुट्टै लाइनमार्फत दर्शन व्यवस्था गरिएको छ। सुरक्षा, स्वास्थ्य सेवा, सरसफाइ र ट्राफिक व्यवस्थापनलाई विशेष प्राथमिकता दिइएको जनाइएको छ।

भीड नियन्त्रणका लागि नेपाल प्रहरीले विशेष योजना बनाएको छ भने काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले दर्शनार्थीको आवागमन सहज बनाउन विशेष ट्राफिक व्यवस्थापन लागू गर्ने जनाएको छ। दर्शन गर्न आउने सवारी साधनका लागि विभिन्न स्थानमा पार्किङको व्यवस्था गरिएको छ।

गौशाला क्षेत्र आसपासको ट्राफिक अवस्थाअनुसार आवश्यकता परे मात्र आवागमन निषेध गरी वैकल्पिक मार्ग प्रयोग गरिनेछ। चाबहिल, गौशाला र तिलगंगा क्षेत्रमा सवारी सञ्चालनलाई प्राथमिकता दिइनेछ भने अत्यधिक भिडभाड भएमा डाइभर्सन गरी वैकल्पिक मार्ग प्रयोग गरिने योजना छ।

तिनकुने,सिनामंगल, बौद्ध,गौरीघाट तथा पुरानो बानेश्वर, गौशाला र मित्रपार्कतर्फ आउने मालबाहक सवारी साधनलाई निषेध गरिएको छ। बागमती करिडोर र जोरपाटीबाट चाबहिल हुँदै आउने सवारीका लागि गुहेश्वरी पारि पार्किङ स्थान तोकिएको छ।

गौशाला चोकमा सवारी सञ्चालन असहज भएमा चाबहिल, पुरानो बानेश्वर, ज्ञानेश्वर,मैतीदेवी मोड, सिफल चौर र जय बागेश्वरी क्षेत्रका सवारीलाई वैकल्पिक मार्गमार्फत सञ्चालन गरिने ट्राफिक प्रहरीको तयारी छ।

सम्बन्धित समाचारसबै