प्रेम, परम्परा र आधुनिकता बीच भ्यालेन्टाइन डे

0 Shares

एन्जु शिवाकोटी, विराटनगर ।

आज फेब्रुअरी १४ विश्वभर प्रेम, स्नेह र आत्मीयता अभिव्यक्त गर्ने दिनका रूपमा भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस मनाइँदै छ। पछिल्ला वर्षहरूमा नेपालमा पनि यो दिवस विशेषगरी युवापुस्तामाझ लोकप्रिय बन्दै गएको छ। प्रेम अभिव्यक्त गर्ने आधुनिक तरिकाको रूपमा यसलाई हेर्ने गरिएको भए पनि यसको ऐतिहासिक पृष्ठभूमि, सांस्कृतिक अर्थ र आधुनिक समयसँगै देखिएका विकृत प्रवृत्तिबारे बहस जारी छ।

भ्यालेन्टाइन डे को उत्पत्ति प्राचीन रोमन सभ्यतासँग जोडिएको मानिन्छ। तेस्रो शताब्दीमा रोमन सम्राट क्लाउडियस गोथिकसले सैनिकहरू विवाह गरेमा उनीहरूको युद्ध क्षमता कमजोर हुन्छ भन्ने विश्वास गर्दै विवाहमा प्रतिबन्ध लगाएका थिए। तर सेन्ट भ्यालेन्टाइन नामका पादरीले प्रेमी युगलहरूको गोप्य रूपमा विवाह गराइदिने काम जारी राखे। यस कार्यका कारण उनलाई मृत्युदण्ड दिइएको बताइन्छ। किंवदन्ती अनुसार मृत्युअघि उनले “From your Valentine” लेखिएको सन्देश पठाएका थिए, जसले प्रेम सन्देश आदानप्रदान गर्ने परम्पराको आधार तयार गरेको मानिन्छ।

पछि क्याथोलिक चर्चले फेब्रुअरी १४ लाई सेन्ट भ्यालेन्टाइनको सम्झनामा मनाउन थालेपछि यो दिन प्रेम र समर्पणको प्रतीकका रूपमा विकसित हुँदै विश्वभर फैलिएको हो।

सञ्चार माध्यम, चलचित्र, सामाजिक सञ्जाल तथा विश्वव्यापी सांस्कृतिक आदान–प्रदानका कारण नेपालमा पनि यसको प्रभाव बढ्दै गएको छ। शहरीकरण, प्रविधिको पहुँच र बदलिँदो जीवनशैलीसँगै युवापुस्ताले प्रेम अभिव्यक्त गर्ने नयाँ तरिका अपनाउन थालेपछि भ्यालेन्टाइन डे लोकप्रिय बन्दै गएको जानकारहरू बताउँछन्।

आजका दिन प्रेमी प्रेमिकाबीच फूल, चकलेट, कार्ड तथा उपहार आदानप्रदान गर्ने, सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्ने र प्रेम प्रस्ताव गर्ने चलन बढ्दो छ। व्यापारिक क्षेत्रले पनि यस अवसरलाई लक्षित गर्दै विशेष अफर तथा कार्यक्रमहरू आयोजना गर्ने गरेका छन्।

यद्यपि, समाजशास्त्रीहरू प्रेमलाई केवल रोमान्टिक सम्बन्धमा सीमित गरेर हेर्न नहुने बताउँछन्। नेपाली समाजमा प्रेमको अर्थ आमाबुबाप्रतिको सम्मान, परिवारप्रतिको आत्मीयता, मित्रता, मानवता र सामाजिक सहानुभूतिसम्म फैलिएको मानिन्छ। यस दृष्टिले प्रेम दिवसले सम्बन्ध सुदृढ गर्ने सकारात्मक अवसर प्रदान गर्ने विश्वास गरिन्छ।

भ्यालेन्टाइन डे लोकप्रिय बन्दै जाँदा केही विकृत प्रवृत्तिहरू देखिन थालेको छ। महँगा उपहार र प्रदर्शनमुखी खर्चले प्रेमलाई आर्थिक क्षमतासँग जोड्ने प्रवृत्ति बढेको छ। सामाजिक सञ्जालमा देखिने प्रदर्शन संस्कृतिले युवाहरूमा अनावश्यक प्रतिस्पर्धा र मानसिक दबाब सिर्जना गर्ने चिन्ता पनि व्यक्त गरिएको छ।

 विश्व संस्कृतिको स्वाभाविक आदान प्रदान र प्रेम अभिव्यक्तिको स्वतन्त्रताको रूपमा स्वीकार गरी सम्बन्धको गहिराइभन्दा क्षणिक आकर्षणलाई प्राथमिकता दिने प्रवृत्तिले प्रेमको वास्तविक मूल्य कमजोर पारिरहेको छ । प्रेम दिवसलाई अर्थपूर्ण बनाउन महँगा उपहारभन्दा समय, सम्मान र भावनात्मक आत्मीयतालाई प्राथमिकता दिन, परिवार र समाजसम्म प्रेमको दायरा विस्तार गर्न तथा सामाजिक सेवामूलक कार्यमार्फत मानवतासँग जोड्न पनि सकिन्छ । जसले हाम्रो सम्बन्धलाई अझ बलियो बनाउछ ।

इतिहासमा त्याग र समर्पणसँग जोडिएको भ्यालेन्टाइन डे आधुनिक जीवनशैलीसँगै बदलिँदो स्वरूपमा मनाइए पनि यसको मूल सन्देश मानव सम्बन्धमा प्रेम, सम्मान र विश्वास कायम गर्नु नै रहेको छ। प्रेमलाई प्रदर्शनभन्दा भावना र क्षणिक आकर्षणभन्दा दीर्घकालीन विश्वाससँग जोडेर मनाउन सकिए यस दिवसले समाजमा सकारात्मक सन्देश प्रवाह गर्न सक्छ ।

सम्बन्धित समाचारसबै