काठमाण्डौ। चुनावी खर्चलाई पारदर्शी र व्यवस्थित बनाउने उद्देश्यसहित राजनीतिक दल तथा उम्मेदवारहरूले बेग्लै बैंक खाता खोल्ने प्रक्रिया सुरु गरेका छन्। निर्वाचन आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईका अनुसार हालसम्म ४ सय ५४ उम्मेदवार र चार राजनीतिक दलले यस्तो खातासम्बन्धी विवरण आयोगमा बुझाएका छन्।
आउँदो फागुन २१ गते हुने निर्वाचनका लागि राजनीतिक दल र स्वतन्त्र उम्मेदवार गरी कुल ३ हजार ४०६ जना प्रतिस्पर्धामा छन्। आयोगले चुनावी आर्थिक कारोबारलाई पारदर्शी बनाउन सबै खर्च सोही छुट्टै खातामार्फत सञ्चालन गर्नुपर्ने व्यवस्था गरेको जनाएको छ। यसअघिका दल वा उम्मेदवारका खातामा रहेको चुनावसम्बन्धी रकमसमेत सोही खातामा सार्नुपर्ने प्रावधान छ।
सहसचिव भट्टराईका अनुसार प्रचारप्रसारलगायत चुनावी खर्चको विवरण तयार भएको ३५ दिनभित्र उक्त खाता बन्द गराइनेछ।
यसैबीच आयोगले उम्मेदवारको खर्च सीमा पनि निर्धारण गरेको छ। भौगोलिक अवस्थाका आधारमा यसपटक प्रति निर्वाचन क्षेत्र २५ लाखदेखि ३३ लाख रुपैयाँसम्म खर्च गर्न पाइने सीमा तोकिएको छ।
चुनावी खर्चको प्रभावकारी अनुगमनका लागि जिल्लास्थित कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुखलाई अनुगमन अधिकृत तोकिएको आयोगले जनाएको छ।