रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै लुम्बिनी प्रदेशका तीन जिल्लामा ‘जनसम्पर्क तथा घण्टी अभिवादन’ कार्यक्रम सञ्चालन गर्ने भएको छ।
पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को नेतृत्वमा रुपन्देही, कपिलवस्तु र नवलपरासीका विभिन्न स्थानमा कार्यक्रम आयोजना गरिने रास्वपाले जनाएको छ।
रुपन्देहीमा भैरहवा, धकधई, मार्चवारी मन्दिर, लुम्बिनी र पर्सा चोकमा कार्यक्रम हुनेछ। कपिलवस्तुमा तौलिहवा, बहादुरगञ्ज र चन्द्रौटामा तथा नवलपरासीमा परासी चोक, बेलासपुर, गोपीगञ्ज र बर्दघाटमा जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम आयोजना हुने छ।
निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूले प्रचारप्रसारलाई तीव्र बनाएका छन्। रास्वपाका अनुसार, मतदातासँग प्रत्यक्ष संवाद गर्दै पार्टीका नीति, कार्यक्रम र चुनावी एजेन्डाबारे जानकारी गराउने उद्देश्यले यी कार्यक्रम आयोजना गरिएको हो।