देशभर मतदाता शिक्षा कार्यक्रम आजदेखि सुरु

0 Shares

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आजदेखि देशभर मतदाता शिक्षा कार्यक्रम सुरु गरिएको छ। निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८ अनुसार स्वीकृत विशेष कार्यक्रममार्फत यो अभियान सञ्चालनमा ल्याइएको हो।

निर्वाचन प्रक्रियाबारे नागरिकलाई स्पष्ट जानकारी गराउने, मताधिकारको महत्त्व बुझाउने तथा सही तरिकाले मतदान गर्ने तरिका सिकाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको निर्वाचन आयोगले जनाएको छ।

आयोगका अनुसार कार्यक्रम फागुन १७ गतेसम्म देशभरका ७५३ स्थानीय तहका ६ हजार ७४३ वडामा सञ्चालन हुनेछ। प्रत्येक वडामा एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिनेछ। स्वयंसेवकहरूले बस्ती र घरदैलोमा पुगेर नमुना मतपत्र प्रयोग गर्दै मतदान प्रक्रिया र निर्वाचनको महत्त्वबारे जानकारी दिनेछन्।

आयोगले प्रभावकारी मतदाता शिक्षाले मतदाताको सहभागिता वृद्धि गर्नुका साथै बदर मत घटाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेको छ।

कार्यक्रमलाई सफल बनाउन सातै प्रदेश सरकार, स्थानीय तह, राजनीतिक दल, उम्मेदवार, सञ्चारमाध्यम तथा सरोकारवालासँग सहयोग, समन्वय र सहजीकरण गर्न आग्रह गरिएको आयोगका सहसचिव नारायणप्रसाद भट्टराईले जानकारी दिए।

सम्बन्धित समाचारसबै