देशभर विशेष मतदाता शिक्षा अभियान सुरु, डिजिटल माध्यमलाई प्राथमिकता

0 Shares

काठमाडौँ — निर्वाचन आयोग नेपालले आगामी निर्वाचनलाई लक्षित गर्दै देशव्यापी विशेष मतदाता शिक्षा अभियान सञ्चालनमा ल्याएको छ। फागुन ३ गतेदेखि सुरु भएको अभियान फागुन १७ गतेसम्म चल्नेछ।

आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार विगतका निर्वाचनमा देखिएका कमजोरी सुधार्दै यसपटक कार्यक्रम आयोगकै प्रत्यक्ष नेतृत्वमा प्रभावकारी रूपमा सञ्चालन गरिएको हो।

पहिले स्थानीय तहका कर्मचारीलाई स्वयंसेवकका रूपमा परिचालन गरिँदै आएकोमा यसपटक आयोगले प्रत्येक वडामा आफ्नै एक–एक जना स्वयंसेवक नियुक्त गरेको छ। स्थानीय तहबाट सञ्चालित कार्यक्रममा अपनत्वको कमी देखिएकाले आयोगले स्वयंसेवक छनोट, तालिम र परिचालन स्वयं गरेको जनाएको छ।

स्वयंसेवकहरूले स्थानीय भाषा र परिवेश बुझेर मतदातालाई सही मतदान विधि सिकाउनेछन्। घरदैलो कार्यक्रममार्फत नमूना मतपत्र र स्वस्तिक छाप प्रयोग गर्ने तरिका देखाउँदै मत बदर हुन नदिने उपायबारे प्रशिक्षण दिइनेछ।

यस अभियानको प्रमुख विशेषता “डिजिटल मतदाता शिक्षा” रहेको घिमिरेले बताए। कागजको प्रयोग घटाउने उद्देश्यले पोस्टर तथा पम्प्लेटको सट्टा सामाजिक सञ्जाललाई प्राथमिकता दिइएको छ।

आयोगको आधिकारिक फेसबुक पेज ‘इलेक्सन कमिसन नेपाल’ मा उपलब्ध भिडिओ, एनिमेसन तथा ब्रोसरहरू प्रयोग गरी मतदातालाई जानकारी प्रदान गरिनेछ। स्वयंसेवकहरूले यही सामग्री देखाएर प्रशिक्षण दिने व्यवस्था गरिएको छ।

अभियानको प्रभावकारिता अनुगमन गर्न प्रविधिको प्रयोग गरिएको आयोगले जनाएको छ। प्रत्येक स्थानीय तहका निर्वाचन सम्पर्क व्यक्तिलाई अनुगमनको जिम्मेवारी दिइएको छ भने केन्द्रबाट ह्वाट्सएप समूहमार्फत दैनिक रिपोर्टिङ र अनुगमन भइरहेको छ।

आयोगले मतदातालाई आफ्नो आधिकारिक पेज फलो गर्न र डिजिटल माध्यममार्फत निर्वाचनसम्बन्धी जानकारी लिन आग्रह गरेको छ। अभियानले मतदाताको सचेतना बढाउँदै मतदान प्रक्रिया थप व्यवस्थित र त्रुटिरहित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचारसबै