फागुन २१ को निर्वाचनका लागि आजदेखि औपचारिक प्रचार खुला

0 Shares

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आजदेखि राजनीतिक दल तथा उम्मेदवारहरूलाई औपचारिक रूपमा चुनाव प्रचार–प्रसार गर्न अनुमति दिइएको छ। निर्वाचन व्यवस्थाअनुसार मतदान हुनुभन्दा १५ दिनअघि मात्र जुलुस, आमसभा, कोणसभा आयोजना गर्न तथा सञ्चारमाध्यममार्फत चुनावी सामग्री प्रकाशन–प्रसारण गर्न पाइन्छ।

यसै प्रावधानअनुसार दल र उम्मेदवारहरूले आजदेखि फागुन १८ गते राति १२ बजेसम्म प्रचार–प्रसार गतिविधि सञ्चालन गर्न सक्नेछन्। तोकिएको मापदण्डभित्र रही पत्रपत्रिका तथा अनलाइन सञ्चारमाध्यममा विज्ञापनमार्फत प्रचार गर्न पनि अनुमति छ।

चुनावी आमसभा वा कोणसभा आयोजना गर्दा मञ्च निर्माणलगायत खर्चको विवरण सम्बन्धित उम्मेदवारले स्वयं वा प्रतिनिधिमार्फत निर्वाचन कार्यालयमा पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।

निर्वाचन आयोगले प्रचार अभियानका क्रममा आचारसंहिताको पूर्ण पालना गर्न राजनीतिक दल, उम्मेदवार, नेता तथा समर्थकलाई निर्देशन दिएको छ। आचारसंहिता उल्लंघन नगरी निर्धारित सीमाभित्र रहेर मात्र चुनावी गतिविधि सञ्चालन गर्न आयोगले सचेत गराएको छ।

प्रचार–प्रसारका क्रममा हिंसा, धम्की, लोभलालच, सामाजिक बहिष्कारजस्ता गतिविधिमा कडाइका साथ रोक लगाइएको छ। आयोगले खर्चको सीमा पालना गर्न, मतपत्र दुरुपयोग नगर्न तथा आचारसंहिताको पालना गर्न सबै दललाई आग्रह गरेको छ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी ले आचारसंहिता पालना गर्नु दलहरूको कानुनी र नैतिक दायित्व भएको उल्लेख गर्दै उल्लंघनबाट बच्न आग्रह गर्नुभएको छ। नियम उल्लंघन भएको अवस्थामा सम्बन्धित निर्वाचन अधिकृत वा आयोगमा उजुरी दिन सकिने व्यवस्था पनि रहेको छ।

सामाजिक सञ्जाल तथा अनलाइन माध्यमबाट संगठित रूपमा मिथ्या सूचना, दुष्प्रचार वा द्वेषपूर्ण अभिव्यक्ति फैलाएर निर्वाचन प्रक्रियामा नकारात्मक असर पार्ने कार्य गर्न नपाइने आयोगले स्पष्ट पारेको छ।

सम्बन्धित समाचारसबै