झापामा ओलीको उपस्थितिले आचारसंहिता उल्लंघनको प्रश्न

0 Shares

झापा । नेकपा (एमाले) का अध्यक्ष तथा झापा निर्वाचन क्षेत्र नं. ५ का प्रतिनिधिसभा उम्मेदवार केपी शर्मा ओली आइतबार दमक नगरपालिका–२ स्थित हिमालय माध्यमिक विद्यालय परिसरमा आयोजित कार्यक्रममा सहभागी भएपछि निर्वाचन आचारसंहिता उल्लंघनको विषय उठेको छ।

पूर्वप्रधानमन्त्री समेत रहेका ओली “पूर्वप्रधानमन्त्रीसँग अन्तक्रिया” शीर्षकमा आयोजित चुनावी प्रचार तथा अन्तक्रिया कार्यक्रममा सहभागी भएका थिए। कार्यक्रम नेपाल राष्ट्रिय शिक्षक संगठन ले आयोजना गरेको बताइएको छ।

विद्यालयमा राजनीतिक कार्यक्रम आयोजना गर्न प्रधानाध्यापक द्रोण श्रेष्ठ र व्यवस्थापन समिति अध्यक्ष रोमनाथ ओलीको सक्रिय भूमिका रहेको स्थानीय स्रोतले जनाएको छ। श्रेष्ठ एमालेनिकट शिक्षक संगठनका पूर्वअध्यक्ष हुन् भने रोमनाथ ओली एमालेका केन्द्रीय सदस्य हुन्।

निर्वाचन आचारसंहिता २०८२ ले विद्यालय परिसरलाई राजनीतिक गतिविधिबाट टाढा राख्न स्पष्ट व्यवस्था गरेको छ। दफा ४ (ग) अनुसार सरकारी वा सार्वजनिक विद्यालय क्षेत्र प्रयोग गरी निर्वाचनसम्बन्धी भेला वा प्रचारप्रसार गर्न पाइँदैन। साथै दफा १० (ग) र (छ) मा शिक्षक वा कर्मचारीले राजनीतिक दलको पक्षमा भवन प्रयोग गर्न दिन वा प्रचारप्रसारमा संलग्न हुन निषेध गरिएको छ।

विवादित कार्यक्रममा एमालेका नेताहरू तथा शिक्षक संगठनका पदाधिकारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा संगठनका केन्द्रीय अध्यक्ष हंशबहादुर शाही, महासचिव प्रकाश खनाल, पूर्वअध्यक्ष लक्ष्मण शर्मा, एमाले नेता देवेन्द्र दाहाल तथा प्रदेशसभा सदस्य होमबहादुर थापा लगायत सहभागी भएका थिए।

शैक्षिक संस्थालाई राजनीतिक गतिविधिको स्थल बनाउन नहुने कानुनी प्रावधान हुँदाहुँदै विद्यालय परिसरमै कार्यक्रम आयोजना गरिएको घटनाले निर्वाचनको निष्पक्षता र आचारसंहिताको पालनाबारे गम्भीर प्रश्न उठाएको छ।

सम्बन्धित समाचारसबै