काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक मतपत्र छपाइ कार्य अन्तिम चरणमा पुगेको छ। जनक शिक्षा सामग्री केन्द्र लिमिटेड ले करिब ५ लाख मतपत्र छाप्न बाँकी रहेको र ती आज दिनभरमा छापिसक्ने जनाएको छ।
केन्द्रका कार्यकारी प्रबन्ध सञ्चालक यदुनाथ पौडेल का अनुसार बागमती प्रदेशका लागि बाँकी मतपत्र आज साँझसम्म छपाइ सम्पन्न हुनेछ। प्रत्यक्षतर्फ कुल २ करोड ३ लाख मतपत्र छाप्नुपर्नेमा अब बाँकी रहेको काम आजै सकिने उनले जानकारी दिए।
केन्द्रले ४२ दिनको कार्यतालिका बनाएर छपाइ सुरु गरेको भए पनि निर्धारित समयभन्दा दुई दिनअघि अर्थात् ४० दिनमै काम सम्पन्न हुने अवस्थामा पुगेको छ। दैनिक १३ देखि १५ लाख मतपत्र छाप्दै लक्ष्यभन्दा अगाडि प्रगति हासिल गरिएको जनाइएको छ।
छपाइ सम्पन्न भएपछि भोलिसम्म सबै मतपत्र प्याकिङ गरी बाँकी जिल्लातर्फ ढुवानी गरिनेछ। यसअघि छापिएका १० लाख नमूना मतपत्र निर्वाचन प्रयोजनका लागि विभिन्न स्थानमा पठाइसकिएको केन्द्रले जनाएको छ।
समानुपातिकतर्फ २ करोड ८ लाख ३० हजार मतपत्र छपाइ गरी प्याकिङ गरिसकिएको र जिल्लामा पठाउने कार्य जारी रहेको पनि जानकारी दिइएको छ।
केन्द्रका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशमा सबै मतपत्र पुगिसकेका छन् भने बाँकी क्षेत्रहरूमा पनि निर्धारित समयभित्रै, फागुन १२ गतेसम्म, मतपत्र पुर्याउने लक्ष्यका साथ वितरण कार्य तीव्र रूपमा अघि बढाइएको छ।