पूर्वी युरोपमा रोजगारी विस्तारका लागि नेपालद्वारा श्रम सम्झौता पहल

0 Shares

काठमाडौं । नेपाली श्रमिकलाई सुरक्षित वातावरण र राम्रो आम्दानीका अवसर उपलब्ध गराउने उद्देश्यले नेपाल सरकारले पूर्वी युरोपेली मुलुकहरूसँग द्विपक्षीय श्रम सम्झौता विस्तार गर्ने प्रक्रिया तीव्र बनाएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय ले क्रोएसिया र माल्टासहित १६ युरोपेली देशसँग श्रम सम्झौताका लागि औपचारिक प्रस्ताव पठाएको जनाएको छ।

मन्त्रालयका सहसचिव पिताम्बर घिमिरे का अनुसार राम्रो कामको वातावरण भएका देशहरूमा नेपाली श्रमिक पठाउने उद्देश्यले गृहकार्य भइरहेको छ। प्रस्तावसँगै सम्झौताको खाका पठाइएको र सम्बन्धित देशसँग छलफल अगाडि बढिरहेको उनले बताए।

यस पहलमा परराष्ट्र मन्त्रालय तथा नेपालका दूतावासहरूले समेत कूटनीतिक संवाद र समन्वय गरिरहेका छन्। रोमानियाबाहेक अन्य देशसँग श्रम सम्झौता हुन बाँकी रहेको उल्लेख गर्दै उनले यसलाई प्राथमिकतामा राखिएको बताए।

हाल क्रोएसिया, माल्टा लगायतका देशमा व्यक्तिगत श्रम स्वीकृति लिएर धेरै नेपाली कामदार पुगेका छन्। औपचारिक श्रम सम्झौता नभएकाले ठगी, शोषण तथा श्रमिक असुरक्षाको जोखिम रहेको भन्दै सरकार सम्झौता प्रक्रियालाई छिटो निष्कर्षमा पुर्‍याउने प्रयासमा रहेको जनाएको छ।

पछिल्ला वर्षहरूमा रोमानिया, क्रोएसिया, पोल्यान्ड, माल्टा, साइप्रसपोर्चुगल नेपाली कामदारका लागि आकर्षक गन्तव्यका रूपमा उदाएका छन्। यी देशमा नेपाली श्रमिकको संख्या बढ्दै गए पनि श्रम सम्झौताको अभावमा कानुनी संरक्षण र श्रमिक अधिकार सुनिश्चित गर्न चुनौती रहेको छ।

नेपाल र रोमानियाबीच भने केही वर्षअघि नै श्रम सम्झौता भइसकेको छ। सरकारले अन्य युरोपेली मुलुकसँग पनि यस्तै व्यवस्था कायम गर्दै सुरक्षित वैदेशिक रोजगारीको दायरा विस्तार गर्ने लक्ष्य लिएको छ।

सम्बन्धित समाचारसबै