अत्यधिक चुनावी खर्चले भ्रष्टाचार बढाउँछ :भोजराज पोखरेल

0 Shares

काठमाडौं । पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल ले निर्वाचनमा हुने अत्यधिक खर्चले भ्रष्टाचारलाई बढावा दिँदै सुशासनको मार्गमा गम्भीर चुनौती सिर्जना गरिरहेको बताएका छन्।

निर्वाचन आयोगद्वारा सोमबार आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले महँगो चुनावी प्रतिस्पर्धाले जनप्रतिनिधिको प्राथमिकता नै विकृत बनाइरहेको टिप्पणी गरे। नीति फाउण्डेशनको अध्ययन उद्धृत गर्दै उनले ठूलो रकम खर्च गरेर निर्वाचन जित्ने प्रतिनिधिहरूले पहिलो प्राथमिकता खर्च असुली र दोस्रो प्राथमिकता आगामी निर्वाचनका लागि स्रोत जुटाउनेतर्फ ध्यान दिने गरेको बताए।

उनका अनुसार यस्तो प्रवृत्तिले जनप्रतिनिधिको ध्यान जनताको आवश्यकता पूरा गर्नुभन्दा चन्दादाताको स्वार्थ पूरा गर्नतर्फ मोडिन्छ। ट्रान्सफरेन्सी इन्टरनेशनलको अन्तर्राष्ट्रिय प्रतिवेदन उल्लेख गर्दै उनले निर्वाचन खर्चलाई कडाइका साथ सीमाभित्र राख्ने देशहरूमा मात्र भ्रष्टाचार नियन्त्रण र सुशासन सुदृढ हुने स्पष्ट पारे।

पोखरेलले अनियन्त्रित चुनावी खर्चले समग्र शासन प्रणालीमै विकृति ल्याउने चेतावनी दिए। नेपालको कानुनी व्यवस्था र व्यवहारिक अवस्थाबीचको अन्तर औंल्याउँदै उनले उम्मेदवारहरूले चुनावका लागि ऋण लिने र पछि तिर्न नसकेर समस्यामा पर्ने अवस्था रहेको बताए।

कतिपय देशमा निजी खर्चमा पूर्ण प्रतिबन्ध रहे पनि नेपालमा स्वेच्छिक सहयोग लिन पाउने खुला प्रावधानले पारदर्शितामा चुनौती थपिएको उनले बताए। निर्वाचन प्रणालीलाई स्वच्छ र पारदर्शी बनाउन चन्दा संकलनमा स्पष्ट सीमा निर्धारण तथा खर्चको कडा निगरानी आवश्यक रहेकोमा उनले जोड दिए।

सम्बन्धित समाचारसबै