धनुषा । मिथिलाको महाकुम्भका रूपमा परिचित १५ दिने मिथिला मध्यमा परिक्रमा आजदेखि विधिवत रूपमा प्रारम्भ भएको छ। धनुषाको मिथिला बिहारी नगरपालिका–८ कचुरीस्थित मिथिला विहारी मन्दिर बाट झाँकी, भजन–कीर्तनसहित मुख्य डोला निकालिएपछि धार्मिक यात्रा सुरु भएको हो।
मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण यादव तथा साधुसन्तहरूको उपस्थितिमा डोला निकाल्दै परिक्रमा उद्घाटन गरिएको थियो। १५ दिनसम्म चल्ने यस यात्रामा हजारौं साधुसन्त तथा श्रद्धालुहरूको सहभागिता रहनेछ। परिक्रमा क्रममा करिब १३३ किलोमिटर दूरी पार गर्दै नेपाल र भारतका विभिन्न पवित्र स्थलहरूको परिक्रमा गरिनेछ।
परिक्रमा यात्रामा १५ स्थानमा रात्री विश्राम गरिने परम्परा छ, जसमा अधिकांश स्थल नेपालमा र केही भारतको बिहार राज्यमा पर्छन्। कचुरीबाट निस्किएको डोला साँझ हनुमानगढी, जनकपुरधाम पुगेर विश्राम गर्ने कार्यक्रम छ। जनकपुरधामस्थित सुन्दर सदन मन्दिरबाट किशोरीजी, रामजानकीलगायत अन्य मन्दिरका डोलाहरू पनि परिक्रमा यात्रामा समावेश हुनेछन्। हनुमानगढीबाट मंगलबारदेखि यात्रा पूर्ण रूपमा विधिवत अघि बढ्नेछ।
अठारौं शताब्दीदेखि निरन्तर चल्दै आएको यो परम्परा ‘मिथिला महात्म्य’ ग्रन्थमा आधारित रहेको मानिन्छ। १५औँ दिन जनकपुरधाममा अन्तर्गृह (पञ्चकोशी) परिक्रमा सम्पन्न भएपछि यात्रा समापन हुन्छ र त्यसको भोलिपल्ट मिथिलाञ्चल क्षेत्रमा होली पर्व मनाउने परम्परा रहेको छ।
धार्मिक विश्वासअनुसार श्रद्धा, मन र कर्मले परिक्रमा पूरा गर्दा पाप नष्ट हुने, मनोकामना पूरा हुने तथा मोक्ष प्राप्त हुने विश्वास गरिन्छ। भगवान राम र माता सीता को मिथिला आगमनसँग जोडिएको यस यात्राले नेपाल–भारत सांस्कृतिक एकतालाई थप सुदृढ बनाउँदै आएको छ।