गाली होइन प्रेमको राजनीति गर्न कांग्रेस उपसभापति शर्माको अपिल

0 Shares

विराटनगर । विश्वप्रकाश शर्माले बदलिएको नेपाली कांग्रेस ले देशको आसन, भाषण र शासन संस्कारमै सुधार ल्याउने बताएका छन्। चुनाव जित्ने नाममा अव्यावहारिक आश्वासन दिएर नागरिकलाई निराश बनाउने प्रकारका घोषणापत्र नलेख्न उनले नेताहरूलाई सुझाव दिएका छन्।

सोमबार लमजुङमा आयोजित खुला सभालाई सम्बोधन गर्दै उनले सत्ता निरन्तर कब्जा गर्ने परम्परा अन्त्य गर्न आवश्यक रहेको बताए। उनले प्रधानमन्त्री र मुख्यमन्त्री पदमा दुई कार्यकालभन्दा बढी बस्न नपाउने व्यवस्था संवैधानिक रूपमा सुनिश्चित गर्नुपर्ने धारणा व्यक्त गरे।

शर्माले चुनावी प्रतिस्पर्धामा गालीगलौजभन्दा प्रेम र सद्भावको सन्देश फैलाउन आग्रह गरे। स्वस्थ आलोचना लोकतन्त्रको स्वाभाविक पक्ष भए पनि व्यक्तिगत आक्रमणले राजनीति अस्वस्थ बन्ने उनले बताए। चुनाव जित्ने उद्देश्यले अवास्तविक वाचा गर्दा भविष्यमा जनतामा निराशा बढ्ने भएकाले भाषण र घोषणापत्र जिम्मेवार हुनुपर्ने उनको भनाइ थियो।

शासन प्रणाली सुधारका लागि पार्टीले सूक्ष्म रूपमा अध्ययन गरिरहेको उल्लेख गर्दै उनले नयाँ पुस्ताको परिवर्तन चाहनाअनुसार सुधार र रूपान्तरण सम्भव बनाइने बताए। देशले कांग्रेस परिवर्तन भएको अनुभूति गरिसकेको र परिवर्तन गर्न सक्ने शक्ति परिवर्तनशील शक्तिमै हुने उनले दाबी गरे।

निर्वाचन प्रचार अभियान सुरु भएको पहिलो दिन उनले लमजुङस्थित कांग्रेस जिल्ला कार्यालय भवन उद्घाटन गर्नुका साथै बीपी कोइराला को सालिक अनावरण गरेका थिए।

सम्बन्धित समाचारसबै