चितवन । रेनु दाहाल ले निर्वाचन प्रक्रिया चलिरहेकै बेला मत सर्वेक्षणको नाममा सञ्चारमाध्यममा नतिजा सार्वजनिक गरिएकोप्रति आपत्ति जनाएकी छन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की उम्मेदवार दाहालले सामाजिक सञ्जालमार्फत यस्ता सामग्रीले मतदातालाई प्रभावित पार्ने र निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने बताएकी हुन्।
उनले केही सञ्चारमाध्यमबाट प्रसारित सामग्री भ्रामक र कपोलकल्पित भएको दाबी गर्दै त्यस्ता समाचार प्रकाशन तथा प्रसारण नगर्न आग्रह गरेकी छन्। यस्ता गतिविधिले समग्र निर्वाचन प्रक्रियामै असर पार्ने उनको भनाइ छ।
चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार दाहाल अहिले घरदैलो अभियानमा सक्रिय छिन्। मतदाताबाट प्राप्त माया, विश्वास र समर्थनले आफू उत्साहित भएको उनले उल्लेख गरेकी छन्।
भरतपुर महानगरपालिका को प्रमुखका रूपमा नौ वर्षको कार्यकाल पूरा गर्दा आफ्नो प्रतिबद्धता र इमान्दारिताकै कारण जनसमर्थन पाएको अनुभूति भएको उनको भनाइ छ। निर्वाचनमा जीत–हार दुवैलाई स्वीकार गर्ने स्पष्टता व्यक्त गर्दै उनले मतदाताको विश्वासका आधारमा फराकिलो मतान्तरले विजयी हुने आत्मविश्वास पनि व्यक्त गरेकी छन्।
लोकतान्त्रिक मूल्य र मर्यादाको सम्मान गर्दै निष्पक्ष र स्वच्छ निर्वाचन सुनिश्चित गर्न सबै पक्षको सहयोग आवश्यक रहेको उनले बताएकी छन्।