इरान–अमेरिका परमाणु संवाद,ट्रम्पको अप्रत्यक्ष संलग्नता

0 Shares

काठमाण्डौं । डोनाल्ड ट्रम्प ले इरानसँग जेनेभामा हुने दोस्रो चरणको परमाणु वार्तामा आफू अप्रत्यक्ष रूपमा संलग्न रहने बताएका छन्। सोमबार एअर फोर्स वनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले मङ्गलबार तय गरिएको छलफललाई अत्यन्त महत्त्वपूर्ण चरणका रूपमा व्याख्या गरे।

ट्रम्पले इरानलाई कठोर वार्ताकारको संज्ञा दिँदै विगतका सैन्य तनावका प्रसंग उल्लेख गरे। उनले इजरायल सँगको युद्ध र इरानी आणविक संरचनामाथि भएका बम आक्रमणको सन्दर्भ जोड्दै सम्झौता नभए गम्भीर परिणाम निम्तिन सक्ने चेतावनी दिए। उनका अनुसार यसपटक तेहरान सम्झौताका लागि इच्छुक देखिएको छ।

यसैबीच, इरानका विदेशमन्त्री अब्बास अराघची वार्ताका लागि स्विट्जरल्यान्ड पुगिसकेका छन्। तर वार्ताअघि नै खाडी क्षेत्रमा सुरक्षा अवस्था तनावपूर्ण बनेको छ। अमेरिकाले क्षेत्रीय सुरक्षालाई ध्यानमा राख्दै दोस्रो विमानवाहक युद्धपोत तैनाथ गरेको छ भने इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनी ले आक्रमण भए व्यापक क्षेत्रीय युद्ध हुन सक्ने चेतावनी दिएका छन्।

वार्ताको मुख्य विवाद इरानको युरेनियम संवर्धन कार्यक्रमलाई लिएर देखिएको छ। अमेरिकाले इरानले आफ्नै भूमिमा युरेनियम संवर्धन रोक्नुपर्ने अडान राखेको छ र क्षेप्यास्त्र कार्यक्रमलाई समेत छलफलको दायरामा ल्याउन चाहेको छ। तर तेहरानले भने प्रतिबन्ध हटाउने विषयमा मात्र छलफल गर्न चाहेको स्पष्ट पारेको छ। इरानले युरेनियम संवर्धन तथा क्षेप्यास्त्र क्षमतामा सम्झौता नगर्ने अडान दोहोर्याउँदै आएको छ।

सम्बन्धित समाचारसबै