स्वच्छ र भयरहित चुनावका लागि सुरक्षा संयन्त्रलाई मानवअधिकार आयोगको कडा निर्देशन

0 Shares

काठमाण्डौं । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावलाई लक्षित गर्दै राष्ट्रिय मानवअधिकार आयोग ले सुरक्षा तयारीबारे उच्चस्तरीय छलफल गरेको छ। आयोगले चुनाव स्वच्छ, निष्पक्ष र त्रासरहित वातावरणमा सम्पन्न गर्न चारवटै सुरक्षा निकायलाई प्रभावकारी समन्वय गर्न आग्रह गरेको हो।

आयोगका सहायक प्रवक्ता श्यामबाबु काफ्लेका अनुसार सुरक्षा व्यवस्था थप चुस्त र विश्वसनीय बनाउन निर्देशन दिइएको छ। छलफलमा नेपाली सेना का रथी, नेपाल प्रहरी का महानिरीक्षक, सशस्त्र प्रहरी बल नेपाल का महानिरीक्षक तथा राष्ट्रिय अनुसन्धान विभाग का प्रमुखसहित सम्बन्धित पदाधिकारी सहभागी थिए।

छलफलपछि आयोगले चुनावी सुरक्षाका लागि आवश्यक सञ्चार, सवारीसाधन, सुरक्षासामग्री तथा जनशक्ति पर्याप्त मात्रामा परिचालन गर्न सरकारलाई निर्देशन दिएको जनाएको छ।

आयोगका अध्यक्ष तपबहादुर मगरले मतदाता, उम्मेदवार, पर्यवेक्षक, अनुगमनकर्ता तथा निर्वाचनमा खटिने कर्मचारीको सुरक्षा सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै मानवअधिकार संरक्षणलाई पहिलो प्राथमिकतामा राख्न आग्रह गर्नुभएको छ। आयोगले निर्वाचन प्रक्रिया पारदर्शी र शान्तिपूर्ण बनाउन सबै निकायबीच समन्वय आवश्यक रहेको उल्लेख गरेको छ।

सम्बन्धित समाचारसबै