फागुन २१ को प्रतिनिधिसभा चुनावका लागि मतपत्र छपाइ र ढुवानी प्रक्रिया पूरा

0 Shares

काठमाण्डौ ।  फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि आवश्यक सम्पूर्ण मतपत्र छपाइ कार्य सम्पन्न भइसकेको छ। जनक शिक्षा सामग्री केन्द्र लिमिटेड का प्रबन्ध निर्देशक यदुनाथ पौडेल ले निर्वाचन आयोगको जिम्मेवारीअनुसार हिजो बेलुकी मतपत्र छपाइ सम्पन्न भएको जानकारी दिनुभयो।

आजदेखि सबै मतपत्र प्याकेजिङ गरी सम्बन्धित प्रदेशमा ढुवानी गरिने बताइएको छ। प्रबन्ध निर्देशक पौडेलका अनुसार, “प्रत्यक्षतर्फ २ करोड ३ लाख मतपत्र छपाइ कार्य हिजो बेलुकी सम्पन्न गरेका छौँ। ४२ दिनको कार्यतालिका लिएर छपाइ शुरू गरिएकामा ४० दिनमै सम्पन्न गर्न सफल भयौँ। अब १० दिनभित्र सबै जिल्लामा मतपत्र पुर्‍याउने छौँ।”

केन्द्रले दैनिक १३ देखि १५ लाख मतपत्र छपाइ गर्दै आएको थियो। यसअघि १० लाख नमूना मतपत्र छपाइ गरी आयोगका विभिन्न कार्यालयमा पठाइसकेको थियो। हाल २ करोड ८ लाख ३० हजार समानुपातिकतर्फका मतपत्र जिल्लामा ढुवानी भइरहेको छ।

पौडेलले कर्णाली र सुदूरपश्चिममा सबै मतपत्र पुगिसकेको र बाँकी क्षेत्रका जिल्लामा पनि १० दिनभित्र वितरण सकिने गरी काम भइरहेको जानकारी दिनुभयो। यसरी मतदानका लागि आवश्यक तयारी चुस्तगतिमा अघि बढिरहेको छ।

सम्बन्धित समाचारसबै