दुई अतिवादले लोकतन्त्र र स्थायित्वमा खतरा:नेकपा

0 Shares

काठमाण्डौ । नेपाली कम्युनिस्ट पार्टी ले मुलुकमा दुई प्रकारको अतिवाद बढेको जनाएको छ। मंगलबार केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा निर्वाचन प्रचार समिति संयोजक अग्निप्रसाद सापकोटाले जनताको आवाज दबाउने आन्दोलनमा चरम दमन गर्ने र राष्ट्रिय सम्पदामा आक्रमण गर्ने अतिवाद हावी रहेको बताए।

नेकपाले जारी विज्ञप्तिमा भनेको छ, “यी दुवै अतिवाद हाम्रो लोकतन्त्र, राष्ट्रिय स्वाधीनता, राजनीतिक स्थिरता र समृद्धिका लागि गम्भीर रूपमा हानिकारक छन्।” पार्टीले मुलुक संवेदनशील परिस्थितिमार्फत निर्वाचन प्रक्रियामा प्रवेश गरेको उल्लेख गर्दै जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिलाई सामान्य बनाउने इमानदार प्रयास गरिरहेको जनाएको छ।

सापकोटाले सरकारले निर्वाचन घोषणा गरेपछि नेकपाले नै निर्वाचन हुनुपर्ने अडान राखेको बताए। विज्ञप्तिमा भनिएको छ, “सबै पक्षको सामूहिक प्रयासबाट आज देश निर्वाचनको निर्णायक चरणमा पुगेको छ। संविधान जारी भएपछि शासकीय सुधार, निर्वाचन प्रणाली, उन्नत संघीय लोकतान्त्रिक गणतन्त्र, सुशासन, सामाजिक न्याय, आत्मनिर्भर अर्थतन्त्र, उत्पादन र रोजगारी सिर्जना जस्ता एजेन्डा सबैको साझा एजेन्डा बनेका छन्।”

साथै, निर्वाचन विथोल्न चाहने शक्तिहरू सक्रिय रहेको भन्दै स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोगले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइएको छ।

नेकपाले प्रतिबद्धता र कार्ययोजना सार्वजनिक गरिसकेको भन्दै त्यसको गम्भीर अध्ययन गर्न, सबै राजनीतिक दलको मूल्यांकन गर्न, विवेकपूर्ण निर्णय लिन र उपलब्धिहरूको रक्षा गर्दै परिवर्तन, स्थायित्व र समृद्धिको पक्षमा उभिन सबैमा आग्रह गरेको छ।

सम्बन्धित समाचारसबै