काठमाडौँ । शेर्पा समुदायले नयाँ वर्षका रूपमा मनाउने ग्याल्पो ल्होसार आज देशभर विविध धार्मिक तथा सांस्कृतिक कार्यक्रमका साथ मनाइँदैछ। हिमाली जिल्ला देखि तराईसम्मका बस्तीहरूमा बिहानैदेखि उत्साह देखिएको छ।
पर्वका अवसरमा घरआँगन, टोल–छिमेक र सार्वजनिक स्थलको सरसफाइ गरिनुका साथै गुम्बा दर्शन, पूजा–आराधना र शुभकामना आदानप्रदान गर्ने परम्परा निर्वाह भइरहेको छ। ‘ल्हो’ अर्थात् वर्ष र ‘सार’ अर्थात् नयाँ भन्ने अर्थ बोकेको ल्होसार शेर्पा समुदायको प्रमुख पर्व मानिन्छ।
महायान बौद्ध परम्पराअनुसार चन्द्रमासमा आधारित फागुन शुक्लपक्ष प्रतिपदाबाट नयाँ वर्ष प्रारम्भ हुने विश्वास गरिन्छ। यस दिन विगत वर्षका दुःख–कष्ट बिर्सेर सुख, शान्ति र समृद्धिको कामना गर्ने चलन छ।
पर्वसँगै सरसफाइलाई विशेष महत्त्व दिइन्छ। गाउँघर, बाटोघाटो र पानीका मुहान सफा गर्ने परम्परालाई शारीरिक मात्र नभई मानसिक तथा आध्यात्मिक शुद्धीकरणको प्रतीकका रूपमा लिइन्छ। समुदायमा विगतका नकारात्मक प्रभाव हटाई नयाँ वर्षलाई सकारात्मक ऊर्जा सहित स्वागत गर्ने विश्वास रहिआएको छ।
यस अवसरमा नौ प्रकारका अन्न मिसाएर बनाइने विशेष परिकार ‘गुथुक’ पकाउने परम्परा पनि छ। परिवारका सबै सदस्य एकै स्थानमा बसेर गुथुक सेवन गर्दै आगामी वर्ष सुखद् र समृद्ध रहोस् भन्ने कामना गर्ने चलनले पारिवारिक एकता र आपसी सद्भावलाई झनै मजबुत बनाउने विश्वास गरिन्छ।







