काभ्रे । बनेपा बजारमा आज बिहान भएको सवारी दुर्घटनामा एक स्कुटर चालकको ज्यान गएको छ। दूरसञ्चार कार्यालय नजिकै बागमती प्रदेश ०१००४ क ३४२३ नम्बरको टिप्परले बागमती प्रदेश ०२–०६३ प ९१८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको हो। मृतकको पहिचान खुल्न बाँकी रहेको छ। शवलाई थप प्रक्रिया तथा परीक्षणका लागि सिर मेमोरियल अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ।
दुर्घटनापछि स्थानीय बासिन्दा आक्रोशित बनेका छन्। आक्रोशित समूहले टिप्परमा आगजनी गरेका छन् भने चालक घटनास्थलबाट फरार रहेको बताइएको छ। स्थानीयको विरोध प्रदर्शनका कारण बनेपा क्षेत्र तनावग्रस्त बनेको छ र यातायात आवागमनसमेत अवरुद्ध भएको छ।
स्थिति नियन्त्रणका लागि प्रहरी परिचालन गरिएको छ भने फरार चालकको खोजी कार्य जारी रहेको जनाइएको छ।