काठमाडौं । नेपाल र भारत बीच फौजदारी विषयमा पारस्परिक कानूनी सहायतासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ। मंगलबार राति सम्पन्न उक्त समारोहमा नेपाल सरकारका तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव विनोदकुमार भट्टराई र भारत सरकारका तर्फबाट नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव ले दस्तखत गरेका हुन्।
गत असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकले सम्झौता गर्ने निर्णय गरेपछि प्रक्रिया अघि बढाइएको थियो। कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हा को उपस्थितिमा हस्ताक्षर सम्पन्न भएको मन्त्रालयका प्रवक्ता दलबहादुर अधिकारीले जानकारी दिए।
यस सहमतिले फौजदारी मुद्दाको अनुसन्धान, अभियोजन तथा न्यायिक कारबाहीका क्रममा आवश्यक प्रमाण सङ्कलन र आदानप्रदानलाई औपचारिक र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। दुवै देशका सम्बन्धित निकायबीच प्रत्यक्ष समन्वयको ढोका खुलेसँगै सीमापार हुने अपराध नियन्त्रणमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।
विशेषगरी वित्तीय अपराध न्यूनीकरण, अनुसन्धान प्रक्रियाको सुदृढीकरण तथा न्याय निरूपणलाई द्रुत र प्रभावकारी बनाउन सम्झौता उपयोगी हुने सरकारी अधिकारीहरूको भनाइ छ।