काठमाडौं । प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा शुभकामना सन्देश जारी गर्दै ज्ञानेन्द्र शाहले राजनीतिक दल र राजसंस्थाबीच सहकार्य आवश्यक रहेको बताएका छन्।
शनिबार साँझ सार्वजनिक सन्देशमा उनले मुलुकको स्थायित्व र विकासका लागि दलहरू र राजसंस्थाले अब ढिला नगरी सहकार्यको बाटो समात्नुपर्ने धारणा राखेका छन्।
सन्देशमा उनले वर्तमान राजनीतिक नेतृत्वप्रति असन्तुष्टि व्यक्त गर्दै देश विकासले अपेक्षित गति लिन नसकेको टिप्पणी गरेका छन्। सत्तामा को आए पनि जनअपेक्षा अनुसार काम हुन नसकेको उनको भनाइ छ।
गणतन्त्र स्थापना पश्चात् नेपालको परराष्ट्र नीति कमजोर बनेको दाबी गर्दै उनले राष्ट्रिय हितभन्दा दलगत स्वार्थलाई प्राथमिकता दिइएको आरोपसमेत लगाएका छन्। परराष्ट्र सम्बन्ध सुदृढ बनाउन दीर्घकालीन र राष्ट्रिय दृष्टिकोण आवश्यक रहेको उनले उल्लेख गरेका छन्।
जनताको अधिकार जनताकै हातमा सुम्पिएर समावेशी शासन प्रणालीको अपेक्षा गरिएको भए पनि राजनीतिक दलहरूबाट त्यस्तो परिणाम नआएको उनले बताएका छन्।
यद्यपि, हालै सम्पन्न आम निर्वाचनबाट केही सकारात्मक र आशालाग्दा व्यक्तित्वहरू निर्वाचित भएको उल्लेख गर्दै उनले मुलुक सुधारको सम्भावनाप्रति आशा व्यक्त गरेका छन्।