विराटनगरबाट उडेको बुद्ध एयरको जहाज प्राविधिक समस्यापछि आकस्मिक अवतरण

0 Shares

विराटनगर । बुद्ध एयरको विराटनगर–काठमाडौं उडान गर्ने जहाजमा उडान भरेको केही मिनेटमै प्राविधिक समस्या देखिएपछि जहाजलाई पुनः विराटनगर विमानस्थलमै फर्काएर सुरक्षित अवतरण गराइएको छ। जहाजमा सवार सबै यात्रु तथा चालक दलका सदस्य सकुशल रहेका छन्।

बुधबार राति ९ः४९ बजे उडेको यू–४७१४९ एन–एएनक्यू कलसाइन भएको विमानले करिब ६ मिनेट उडान गरेलगत्तै दाहिने इन्जिनतर्फ असामान्य संकेत देखाएको थियो। विमानमा २५ पुरुष र ५ महिला यात्रु सहित चालक दलका ४ सदस्य गरी कुल ३४ जना सवार थिए।

विमानस्थल प्रमुख सुवास झाले उडानपछि इन्जिनसम्बन्धी असामान्य संकेत प्राप्त हुनासाथ चालक दलले सतर्कता अपनाएको बताए। पाइलटले हवाई ट्राफिक कन्ट्रोलसँग समन्वय गरी जहाजलाई सुरक्षित रूपमा फर्काउने निर्णय गरेका थिए। जहाज राति १०ः१३ बजे पुनः विराटनगरमै अवतरण गरिएको हो।

अवतरणको क्रममा विमानस्थलमा आकस्मिक तयारी सक्रिय राखिए पनि जहाज सामान्य प्रक्रियाअनुसार सुरक्षित रूपमा धावनमार्गमा अवतरण भएपछि सम्भावित जोखिम टरेको थियो। यात्रुहरूमा सामान्य त्रासबाहेक अन्य कुनै स्वास्थ्य समस्या नदेखिएको विमानस्थल प्रशासनले जनाएको छ।

प्रारम्भिक जाँचमा दाहिने इन्जिनमा प्राविधिक गडबडी देखिएको जानकारी दिइएको छ। विस्तृत परीक्षणका लागि काठमाडौंबाट प्राविधिक टोली झिकाउने तयारी भइरहेको र परीक्षण पूरा नभएसम्म जहाज ग्राउन्डेड अवस्थामै रहने जनाइएको छ।

यस उडानबाट काठमाडौं जान नसकेका यात्रुहरूलाई वैकल्पिक व्यवस्था गरिएको थियो। काठमाडौंबाट आएको अर्को जहाजमार्फत उनीहरूलाई सोही राति गन्तव्यतर्फ पठाइएको विमानस्थल प्रशासनले जनाएको छ।

विमान उडानका क्रममा देखिने प्राविधिक संकेतलाई बेवास्ता नगरी समयमै निर्णय लिनु सुरक्षा व्यवस्थापनको महत्वपूर्ण पक्ष मानिन्छ। विज्ञहरूका अनुसार प्रारम्भिक चरणमै समस्या पहिचान गरी जहाज फर्काउने निर्णयले सम्भावित दुर्घटना टर्न सक्छ। नेपालमा आन्तरिक उडान सुरक्षालाई सुदृढ बनाउन नियमित परीक्षण र मर्मतसम्भारलाई पछिल्ला वर्षहरूमा थप कडाइ गरिएको छ।

सम्बन्धित समाचारसबै