पाँचथरमा चुनाव प्रचारको नयाँ शैली: घरदैलो र डिजिटल अभियान प्राथमिकतामा

0 Shares

पाँचथर। पूर्वी पहाडी जिल्ला पाँचथरमा यस पटक चुनावी माहोल पुराना शैलीभन्दा फरक देखिएको छ। ठूला चुनावी सभा र शक्ति प्रदर्शनलाई सीमित गर्दै दलहरूले कर्नर मिटिङ, घरदैलो, प्रत्यक्ष भेटघाट तथा साना अन्तरक्रियात्मक कार्यक्रमलाई प्राथमिकता दिएका छन्।

६० वटा वडा समेटिएको भौगोलिक रूपमा विस्तृत निर्वाचन क्षेत्र भएकाले उम्मेदवारलाई सबै स्थानमा पुग्न चुनौती रहेको छ। यही कारण दलहरूले मतदातासँग नजिकिने सानो आकारका कार्यक्रमलाई प्रभावकारी माध्यमका रूपमा अपनाएका हुन्।

यस पटक सामाजिक सञ्जाल चुनाव प्रचारको मुख्य माध्यम बनेको छ। उम्मेदवारहरू क्यामेरामेनसहित गाउँ–गाउँ पुग्दै दैनिक भिडियो सामग्री तयार पारेर फेसबुक र टिकटकमार्फत सार्वजनिक गरिरहेका छन्। भित्तामा टाँसिने पर्चा, पोस्टर र पम्प्लेटको प्रयोग भने न्यून देखिएको छ।

नेपाली कांग्रेसका उम्मेदवार नरेन्द्रकुमार केरुङ समानुपातिक उम्मेदवार भीष्मराज आङदेम्बे र जिल्ला सभापति रुपनारायण जवेगुसहित सानो टोली बनाएर गाउँ–गाउँमा पुगिरहेका छन्। कांग्रेसका जिल्ला उपसभापति डिकेन्द्र चेम्जोङका अनुसार उपसभापति विश्वप्रकाश शर्माको सीमावर्ती क्षेत्रमा कार्यक्रमबाहेक अधिकांश गतिविधि घरदैलो केन्द्रित छन्।

नेकपा एमालेका उम्मेदवार अईन्द्रसुन्दर नेम्बाङ पनि समानुपातिक उम्मेदवार भूमिकासहित मतदाता भेटघाटमा सक्रिय छन्। एमाले जिल्ला उपसचिव तुलसी थापाले ठूला राजनीतिक कार्यक्रमभन्दा कार्यकर्ता परिचालन र प्रत्यक्ष सम्पर्कलाई प्राथमिकता दिएको बताए।

नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार हर्क नेम्बाङ घरदैलो अभियानमै व्यस्त छन्। पार्टीका नेता विशाल रसाईलीका अनुसार टोली विभाजन गरी गाउँ–गाउँ पुग्ने रणनीति अपनाइएको छ। “भाषण सुन्ने समयभन्दा प्रविधिबाट जानकारी लिने प्रवृत्ति बढेको छ,” उनले बताए।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार महेन्द्र विक्रम थामसुहाङ पनि ग्रामीण क्षेत्रमा सक्रिय छन्। वरिष्ठ नेता बालेन शाहको उपस्थितिपछि पार्टी कार्यकर्तामा उत्साह बढेको बताइएको छ।

संगठन विस्तारमा लागेको श्रम संस्कृति पार्टीले पनि सबै ६० वडामा जनसम्पर्क अभियान चलाएको जनाएको छ। जिल्ला अध्यक्ष प्रविन राईका अनुसार ठूलो सभा भन्दा प्रत्यक्ष जनसम्पर्कलाई प्राथमिकता दिइएको छ। उज्यालो नेपाल पार्टीले चुनावी र्‍याली सम्पन्न गरी अहिले घरदैलो कार्यक्रमलाई निरन्तरता दिएको नेता सजिव योङ्याले जानकारी दिए।

पाँचथरमा विभिन्न दलबाट १५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। प्रविधिमैत्री प्रचार र प्रत्यक्ष मतदाता सम्पर्कको संयोजनले यस पटकको चुनावी वातावरण नयाँ शैलीमा अघि बढिरहेको देखिन्छ।

सम्बन्धित समाचारसबै