काठमाडौँ । नेपालमा आज निर्वाचन दिवस विभिन्न कार्यक्रमसहित मनाइँदैछ। बालिग मताधिकारका आधारमा सम्पन्न पहिलो आम निर्वाचनको सम्झनामा प्रत्येक वर्ष फागुन ७ गते यो दिवस मनाउने परम्परा रहेको छ।
नेपालको पहिलो आम चुनाव २०१५ साल फागुन ७ गते सुरु भई २०१६ साल वैशाख २१ गते सम्पन्न भएको थियो। उक्त निर्वाचनमार्फत नेपाली नागरिकले पहिलो पटक सार्वभौम मताधिकार प्रयोग गर्ने अवसर पाएका थिए। सो ऐतिहासिक उपलब्धिको सम्मानस्वरूप निर्वाचन दिवस मनाइँदै आएको हो।
निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार यस वर्ष प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीमै केन्द्रित हुनुपरेकाले कान्तिपथस्थित आयोग परिसरमा औपचारिक कार्यक्रम आयोजना गरी दिवस मनाइँदैछ।
यस अवसरमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले राजनीतिक दल तथा उम्मेदवारलाई स्वतन्त्र र निर्बाध रूपमा चुनावी प्रचार–प्रसार गर्न आह्वान गरेका छन्। उनले निर्वाचनमा खटिने कर्मचारी, अनुगमनकर्ता, पर्यवेक्षक र मतदाताको सुरक्षाको प्रत्याभूति गर्दै स्वच्छ, स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सहभागिता सुनिश्चित गर्न आग्रह गरेका छन्।
उनले स्वच्छ, विश्वसनीय, पारदर्शी तथा मितव्ययी निर्वाचनलाई शान्ति, स्थिरता, समृद्धि र सुशासनको आधार मान्दै सबै सरोकारवालाबीच सहकार्य आवश्यक रहेको बताएका छन्। फागुन २१ गते हुने निर्वाचनले पछिल्ला राजनीतिक घटनाक्रमपछि देखिएको अव्यवस्थालाई सही मार्गमा ल्याउने विश्वास पनि व्यक्त गरिएको छ।
गत भदौ २३ र २४ गते भएको नवयुवा विद्रोहपछि राष्ट्रपतिद्वारा घोषणा गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा निर्वाचन दिवस यस वर्ष विशेष महत्वका साथ मनाइएको आयोगले जनाएको छ। कार्यवाहक प्रमुख आयुक्त भण्डारीका अनुसार यो दिवस आयोग मात्र नभई मतदाता, नागरिक समाज, राजनीतिक दल र उम्मेदवार सबैका लागि स्मरणीय अवसर बनेको छ।