स्वच्छ र भयरहित चुनावका लागि सरकार प्रतिबद्ध: प्रधानमन्त्री सुशीला कार्की

0 Shares

काठमाडौँ । सुशीला कार्कीले प्रतिनिधि सभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएकी छन्। प्रजातन्त्र दिवस तथा निर्वाचन दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले लोकतान्त्रिक प्रक्रियालाई सुदृढ बनाउन राज्यका सबै संयन्त्र परिचालन गरिएको स्पष्ट पारिन्।

उनले २०१५ साल फागुन ७ गतेबाट सुरु भएको नेपालको निर्वाचन इतिहास स्मरण गर्दै स्वच्छ र भयरहित चुनावमार्फत लोकतान्त्रिक स्थायित्वको नयाँ युग प्रारम्भ गर्ने लक्ष्य रहेको बताइन्। तोकिएको मितिमै विश्वसनीय वातावरणमा मतदान सम्पन्न हुने सुनिश्चित भएको उनको दाबी थियो।

प्रधानमन्त्री कार्कीले निर्वाचनबाट गठन हुने संसद र सरकारले लोकतन्त्रलाई थप जीवन्त, नतिजामुखी र जनउत्तरदायी बनाउने विश्वास व्यक्त गरिन्। संस्कारयुक्त राजनीति, जवाफदेही शासनशैली र सामाजिक न्यायसहितको समृद्धिका लागि सबै राजनीतिक दल र नागरिक एकजुट हुनुपर्ने उनको आग्रह थियो।

उनले स्वच्छ र भयमुक्त चुनावमार्फत लोकतान्त्रिक स्थायित्व र समृद्ध नेपाल निर्माण सम्भव हुने बताउँदै प्रजातन्त्र र सुशासनका लागि जीवन अर्पण गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरिन्। २००७ सालको क्रान्तिले नेपालीलाई रैतीबाट नागरिक बनाएको र २०१५ सालमा पहिलो संसदीय निर्वाचन सुरु भएको ऐतिहासिक तथ्यलाई उनले विशेष रूपमा स्मरण गरिन्।

सामाजिक सञ्जालमार्फत समेत उनले लोकतन्त्रलाई जीवनशैलीका रूपमा स्थापित गर्न नेतृत्व तहले आत्मसमीक्षा गर्नुपर्ने उल्लेख गर्दै भ्रष्टाचार, नातावाद र विभेदविरुद्ध संस्थागत सुधारमार्फत ठोस कदम चाल्नुपर्ने आवश्यकता औँल्याएकी छन्।

सम्बन्धित समाचारसबै