काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन्द्र (बालेन) शाहविरुद्ध सरकारी कागजात किर्ते गरेको आरोप लगाउँदै जिल्ला प्रहरी परिसर, भद्रकालीमा जाहेरी दर्ता गरिएको छ। जाहेरीकर्ताले नागरिकता विवरणमा अनधिकृत परिवर्तन गरी वास्तविक पहिचान लुकाइएको दाबी गरेका छन्।
जाहेरीमा शाहले आफ्नो पुर्ख्यौली पहिचान परिवर्तन गर्ने उद्देश्यले ‘साह’ थरको सट्टा ‘शाह’ प्रयोग गरी सरकारी अभिलेखमा फेरबदल गरेको आरोप उल्लेख गरिएको छ। बुबा र दाइको पुरानो नागरिकता, बसाइँसराइसम्बन्धी कागजात तथा पछि लिइएको नागरिकताको प्रतिलिपीमा थर फरक रहेको दाबी पनि उजुरीमा समेटिएको छ।
प्राप्त विवरणअनुसार उनले २०६३ पुस ६ गते जिल्ला प्रशासन कार्यालय, महोत्तरीबाट नागरिकता प्रमाणपत्र नम्बर ६१९२ प्राप्त गरेका थिए। पछि २०७९ असार १९ गते काठमाडौंमा पहिलो प्रतिलिपि लिँदा आफ्ना तथा बुबाको नाममा रहेको ‘साह’ थर परिवर्तन गरी ‘शाह’ कायम गराएको आरोप लगाइएको छ।
प्रहरीमा दर्ता गरिएको जाहेरीका आधारमा विषयवस्तुको प्रारम्भिक अध्ययन भइरहेको जनाइएको छ। सम्बन्धित निकायले कागजातको प्रामाणिकता, प्रक्रिया र कानुनी पक्षको जाँचपछि मात्रै थप निष्कर्ष आउने बताइएको छ।
यस विषयमा शाहको आधिकारिक प्रतिक्रिया सार्वजनिक भइसकेको छैन। कानुनी प्रक्रिया अनुसार अनुसन्धानपछि मात्र आरोपको सत्यता पुष्टि हुने सरोकारवालाहरू बताउँछन्।