दुर्गा प्रसाईंको रिहाइ माग्दै देशव्यापी आन्दोलन घोषणा

0 Shares

काठमाडौं। ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक अधिकारको रक्षा’ को नारासहित अभियान सञ्चालन गर्दै आएका दुर्गा प्रसाईंको सचिवालयले संयोजक प्रसाईंलाई रिहा नगरिएको भन्दै देशव्यापी आन्दोलन घोषणा गरेको छ।

सचिवालयले प्रसाईंलाई बिना ठोस कारण हिरासतमा राखिएको दाबी गर्दै सरकारप्रति आपत्ति जनाएको छ। जारी विज्ञप्तिमा प्रसाईंले उठाएका जनताका माग सम्बोधन गर्नुको सट्टा राज्य शक्तिको दुरुपयोग गरी उनलाई बन्दी बनाइएको आरोप लगाइएको छ। शान्तिपूर्ण रूपमा बारम्बार रिहाइको माग गर्दा पनि सरकारले बेवास्ता गरेपछि आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य भएको सचिवालयको भनाइ छ।

घोषणाअनुसार फागुन ६ गतेदेखि देशव्यापी अनिश्चितकालीन नेपाल बन्दको आह्वान गरिएको छ। बन्दका क्रममा उद्योग, कलकारखाना, यातायात सेवा, शिक्षण संस्था तथा व्यापारिक प्रतिष्ठान पूर्ण रूपमा बन्द गरिने बताइएको छ। साथै प्रमुख चोक तथा जिल्ला सदरमुकामहरूमा शान्तिपूर्ण प्रदर्शन र कोणसभा आयोजना गरिने कार्यक्रम तय गरिएको छ।

सचिवालयले बौद्ध, किरातसहित वैदिक सनातन हिन्दू अधिराज्य तथा राजसंस्था पुनर्स्थापनापछि मात्र निर्वाचनको वातावरण बन्ने विश्वास व्यक्त गरेको छ। साथै महाअभियानले अघि सारेका २७ बुँदे माग तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराइएको छ।

सम्बन्धित समाचारसबै