विराटनगर । विश्वप्रकाश शर्माले चुनावअघि नै पाँच वर्ष स्थिर सरकार कायम गर्न राष्ट्रिय सहमति गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्। धरानको भानु चोकमा बिहीबार आयोजित सुनसरी–१ का उम्मेदवार सुजेन्द्र तामाङको चुनावी ‘प्रतिबद्धता घोषणासभा’मा उनले आफ्नो प्रस्ताव सार्वजनिक गरेका हुन्।
शर्माले कांग्रेसले बहुमत ल्याउने लक्ष्यसहित प्रधानमन्त्रीलाई पाँच वर्ष टिकाउन नयाँ संवैधानिक प्रावधान आवश्यक रहेको बताए। उनका अनुसार विगत ७५ वर्षमा कुनै पनि प्रधानमन्त्री लगातार पाँच वर्ष कायम रहन सकेका छैनन्।
उनले प्रत्यक्ष सिट र लोकप्रिय मतको आधारमा पहिलो हुने दलको प्रधानमन्त्रीले पूरा पाँच वर्ष शासन गर्ने, बहुमत नपुगेमा ‘विनर्स टेक अल’ नीति लागू गरिने, र दोस्रो–तेस्रो दलहरूले सरकारमा नपरी प्रतिपक्षी भूमिकामा रहनुपर्ने प्रस्ताव अघि सारे।
साथै, सभामुख चयनपछि बस्ने संसद्को पहिलो बैठकबाट यो सहमति संविधानमा अंकित गर्नुपर्ने उनको धारणा छ। शर्मा चुनावअघि सरकार, दल, बौद्धिक क्षेत्र र युवासहितको वृहत् सम्मेलन गरी संविधान र समग्र पद्धतिमा सुधारका दर्जनौं बुँदामा सहमति गर्नुपर्ने सुझाव दिएका छन्।
उक्त प्रस्ताव सार्वजनिक रूपमा ल्याउँदै उनले राष्ट्रिय सहमतिको माध्यमबाट राजनीतिक स्थायित्व र सुशासन सुनिश्चित गर्न आग्रह गरेका छन्।