काठमाडौँ । आउँदो प्रतिनिधि सभा निर्वाचनका लागि देशभरका स्थानीय तहले मतदाता शिक्षालगायत कार्यक्रम सञ्चालन र समन्वयमा सक्रिय भूमिका खेलिरहेका छन्। निर्वाचन आयोगले फागुन ३ देखि १७ गतेसम्म ७५३ स्थानीय तहका ६,७४३ वडामा एक–एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरेको थियो। ती स्वयंसेवकहरूले घरदैलो र बस्तीमा पुगेर नमूना मतपत्रको माध्यमबाट मतदान प्रक्रिया र निर्वाचनको महत्त्वबारे जनतालाई जानकारी गराएका छन्।
मोरङको पथरी–शनिश्चरेका प्रमुख मोहनप्रसाद तुम्बापोले भने, “जेनजी आन्दोलनले केही भवन र संरचना क्षतिग्रस्त भए पनि हामी पुन:व्यवस्थित हुँदै निर्वाचनमा आवश्यक समन्वय गरिरहेका छौँ। मुलुकको स्थायित्व र लोकतान्त्रिक प्रणालीको रक्षा सबैको जिम्मेवारी हो।”
महोत्तरीको मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले राजनीतिक प्रतिस्पर्धाबीच पनि शान्तिपूर्ण वातावरण कायम राख्दै मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए। नुवाकोटको शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्दप्रसाद थपलियाले मतदाता शिक्षा कार्यक्रम र सुरक्षा निकायसँगको समन्वयमा स्थानीय तहले सहयोग पुर्याइरहेको बताए।
निर्वाचन आचारसंहिताअनुसार स्थानीय तहले कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा स्रोतसाधन दुरुपयोग नगर्ने व्यवस्था रहेको छ। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले प्रभावकारी मतदाता शिक्षाले बदर मत न्यूनीकरणमा सहयोग पुग्ने भएकाले सबै सरोकारवालाको सहजीकरण आवश्यक रहेको बताए।
स्थानीय तह, संघीय सरकार, प्रदेश सरकार र सुरक्षा निकायबीचको समन्वयले मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी र निर्वाचनलाई शान्तिपूर्ण बनाउन महत्वपूर्ण भूमिका खेलिरहेको छ।