काठमाडौं । बालेन्द्र शाहले कर्णालीलाई ‘शिवभूमि’को उपमा दिँदै बिहीबार सुर्खेतमा राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी वाचापत्र सार्वजनिक गरे। समारोहमा बोल्दै उनले भने, “शिव भगवानको पाउमा आएर वाचापत्र घोषणा गर्न पाउँदा खुसी छौँ।”
बालेनले राजा महेन्द्रको पुरानो भनाइलाई पनि सम्झँदै कर्णालीको प्राकृतिक सौन्दर्य र सांस्कृतिक महत्त्वको चर्चा गरे। उनले भने, “कर्णाली यो देशको सबैभन्दा ठुलो रारा ताल राजा महेन्द्रले भनेजस्तो स्वर्गकी अप्सराको ठाउँ हो।”
वाचापत्रमा बालेनले कर्णालीको उत्पादन र सम्पदालाई देशभर पुर्याउने लक्ष्य उल्लेख गरे। उनले भने, “आजको दिनमा डोल्पाको यार्सागुम्बा विश्वभर पुग्छ, तर यहाँको स्याउ र मार्सी चामल अन्य भागमा पुग्न सकेको छैन। हामी त्यसको व्यवस्था गर्ने पार्टी बन्न चाहन्छौँ।”
साथै, बालेनले कर्णालीको सिञ्जा सभ्यता, नेपाली भाषा, खस भाषाको संरक्षण र गरिबी उन्मूलनमा रास्वपाको प्रतिबद्धता व्यक्त गरे। उनले भने, “कर्णालीको दु:ख बुझ्ने नेता धेरै आए तर काम गर्ने थिएनन्। रास्वपा त्यस बुझाइका साथ यहाँको विकासमा जुट्ने पार्टी हो।”