आध्यात्मिक शुद्धि र संयमको रमजान पर्व आजदेखि सुरु

0 Shares

काठमाडौँ । मुस्लिम समुदायको पवित्र रमजान पर्व सुरु भएसँगै इस्लाम धर्मावलम्बीहरू एक महिनासम्म रोजा (व्रत) बस्दै धार्मिक अनुशासन र आध्यात्मिक साधनामा जुटेका छन्। अघिल्लो राति ‘सेहरी’ खाएर सुरु गरिने रोजा सूर्योदयदेखि सूर्यास्तसम्म कायम रहन्छ र सूर्यास्तपछि ‘इफ्तार’ गरेर खोलिन्छ।

रमजान, जसलाई रमदान पनि भनिन्छ, इस्लामिक पात्रोको नवौं महिना हो। उर्दू, अरबी र फारसी परम्परामा आधारित इस्लामी क्यालेन्डरअनुसार यो महिनामा पवित्र धार्मिक ग्रन्थ कुरान अवतरण भएको विश्वास गरिन्छ। त्यसैले यस अवधिमा कुरान पाठ, पाँच समयको नमाज र विशेष ‘तरावीह’ नमाज पढ्नुलाई पुण्यकार्य मानिन्छ।

धार्मिक मान्यताअनुसार अल्लाहले एक महिना रोजा बस्न आदेश दिएको विश्वास गरिन्छ। कुरानको सुरा अल बकराहको आयत १८५ मा रोजाको महत्त्व उल्लेख गरिएको बताइन्छ। रोजा फारसी शब्द हो, जसको अर्थ उपवास हो भने अरबी भाषामा यसलाई ‘सियाम’ भनिन्छ। रमजान २९ वा ३० दिनको हुन सक्छ र नेपाल तथा भारतका मुस्लिम समुदायमा ‘रोजा’ शब्द व्यापक रूपमा प्रयोग हुन्छ।

इस्लाम धर्मका पाँच आधारभूत कर्तव्य कल्मा, नमाज, रोजा, जकात र हज मध्ये रोजा एक अनिवार्य कर्तव्य मानिन्छ। रोजा बस्दा खराब बानी त्याग्न, आत्मसंयम विकास गर्न र मन शुद्ध बनाउन सहयोग पुग्ने धार्मिक विश्वास छ। जाँड रक्सी, चुरोट, सुर्ती तथा अन्य कुलतबाट टाढा रहनुपर्ने भएकाले यसले स्वास्थ्य र आचरण दुवैमा सकारात्मक प्रभाव पार्ने बताइन्छ।

इस्लामिक पात्रो चन्द्रमाको आधारमा चल्ने भएकाले रमजान सुरु र अन्त्य चन्द्रमा देखिएपछि तय हुन्छ। नयाँ चन्द्रमा देखिएपछि रोजा सुरु गरिन्छ र महिनाको अन्त्यमा पुनः चन्द्रमा देखिएपछि ईद उल फित्र मनाइन्छ।

धार्मिक नियमअनुसार बालिग मुस्लिमलाई रोजा बस्न अनिवार्य मानिन्छ भने नाबालक, बिरामी, गर्भवती, रजस्वला महिला तथा यात्रामा रहेका व्यक्तिलाई छुट दिइन्छ। विशेष परिस्थितिमा रोजा छुटेमा पछि अनुकूल समयमा त्यसको सट्टा रोजा बस्नुपर्ने व्यवस्था छ।

रमजानलाई दान र सहायताको महिना पनि मानिन्छ। यस अवधिमा जकात, सदका र फित्रा वितरण गर्दै गरिब तथा आवश्यकतामा परेकालाई सहयोग गरिन्छ। रोजादारलाई इफ्तार गराउनु पुण्यको कार्य मानिन्छ। धार्मिक विश्वासअनुसार यस महिनामा गरिएको सत्कर्मको फल सामान्य समयभन्दा धेरै गुणा बढी प्राप्त हुन्छ।

आध्यात्मिक अनुशासन, आत्मसंयम, दानशीलता र सामाजिक सद्भावको सन्देश बोकेको रमजान महिनाको अन्त्य ईद उल फित्रको नमाजसँगै हुन्छ, जहाँ परिवार र समुदायबीच शुभकामना आदान–प्रदान गरी पर्व उल्लासपूर्वक मनाइन्छ।

सम्बन्धित समाचारसबै